Logo

अर्थ

जलहरी प्रकरणपछि कस्तो छ पशुपति परिसरको अवस्था ? (भिडियो)



काठमाडौं । आइतबार जलहरी जोख्नका लागि भन्दै खाली गराइएको पशुपतिनाथ मन्दिर परिसरमा सोमबार चहलपहल बढेतापनि सुरक्षाकर्मीको निगरानी कायमै छ । जलहरी बाहिर निकालेर जोख्ने काम भएपनि जडान नगरिएकाले सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको पशुपति विकास कोषले जनाएको छ ।पशुपति विकास कोषका उपमहानिर्देशक रेवतीरमण अधिकारीका अनुसार पशुपति जलहरी कहिले जडान गर्ने भन्ने विषयमा मंगलबार बैैठक बसी तय हुने छ । क्षमा पूजा गरेर मात्र जलहरी पुनः राख्नपर्ने हुँदा २ दिन लाग्न सक्ने उनको भनाई छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार पशुपतिनाथ मन्दिरमा पुग्नुअगावै अपरान्ह ३ बजेदेखि खाली गराइएको मन्दिर परिसर सोमबार मध्यरातिपछि सर्वसाधारणका लागि खुला गरिएको हो । पशुपतिको गर्भगृहमा रहेको ज्योतिर्लिङ्गमा जडित सुनको जलहरीमा भ्रष्टाचार भएको आशंकापछि अख्तियारको टोली आइतवार सुन जोख्न पशुपति पुगेको थियो । जलहरी बाहिर निकालेर जोख्ने काम मध्यराति सकिएपछि मात्र मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो ।

गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि काठमाडौं महानगरपालिकाका प्रतिनिधी र सुरक्षाकर्मीको उपस्थितिमा अख्तियारको टोलिले जलहरी जोखेको थियो । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर निकालेर जोखिएको पशुपति विकास कोषका उपमहानिर्देशक रेवतीरमण अधिकारीले बताए । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा समेत जडान गरेको थियो ।

जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १लाख ११ हजारमा किनेको थियो । चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्ने विवादास्पद निर्णय गरेको थियो ।तर जलहरी राख्ने सुन खरीद गर्दा अनियमितता भएको उजुरी परेपनि अख्तियारले यो विषयमा अनुसन्धान अघि बढाएको थिएन । गत महिना प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको भनेर चाँदीको जलहरी राखेको भन्दै एमाले अध्यक्ष ओलीलाई आरोपित गरेपछि यो विषय पुनः चर्चामा आएको थियो ।आइतवार मध्यरात लगाएर अख्तियारको टालीले जोख्दा पशुपतिमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ।

यसैबीच जलहरी जडान गर्दाका बखत पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव रहेका प्रदीप ढकालविरूद्ध सोमबार भ्रष्टाचारको मुद्दा दायर भएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।उनले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको आरोप छ ।

(भिडियो)

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ६ : ११ बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।