Logo

अर्थ

२ अर्ब लगानीमा कमलादीमा स्काइ वाक टावर सन्चालनमा, अवलोकन गर्न कति लाग्छ ?



काठमाडौँ। काठमाडौंको मुटुमै रहेको कमलादीमा साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार स्काई वाक टावर शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्न सकिनेछ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य रहेको सञ्चालकको दाबी छ ।

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रालिका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए ।

 

‘टावरको २५ औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ ।’पोख्रेल थप्छन् -‘यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ । साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”साहसिक खेल खेल्न रुचाउनेहरूलाई थप मज्जा यस स्काई वाकले दिनेछ । स्काइ वाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत यहाँबाट सुन्दर देखिन्छ । करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरा लगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ ।’उनकाे भनाई छ ।

झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । यहाँ एकैपटक ५ सय मान्छे अट्नेछन् ।टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको पोख्रेलले जानकारी दिए । उच्च गुणस्तरको यस सिसामा हिँड्न सुरक्षित रहेको उनको भनाइ छ ।टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् ।

स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ । जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने छ । कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान शुल्क नलाग्ने बताइएको छ ।

यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारी गरिएकाे छ ।

कति लाग्छ शुल्क ?

स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ । स्काइ वाक भएको २५ औं तलामा भन्दा माथी जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवस्यकता पर्दछ जसको थप हजार रुपैयाँ शुल्क लाग्छ ।

टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ ।स्काइ वाक शुरूवाती दिनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १३:१०   :  बजे

873
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।