काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले घोराही सिमेन्ट आइपीओ प्रकृया रद्द गर्न धितोपत्र बोर्डलाई चेतावनी दिएको छ । समूहले मंगलवार नेपाल धितो पत्र बोर्ड खुमलटार पुगी धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालसमक्ष एक ज्ञापनपत्र बुझाउँदै बिना शर्त घोराही सिमेन्ट आइपीओ प्रकृया रद्द गरी सर्वसाधारणको लगानी फिर्ता गर्नुपर्ने अन्यथा जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको हो । विप्लव समूह ललितपुर जिल्ला कमिटिले बुझाएको ज्ञापनपत्रमा घोराही सिमेन्ट आइपीओ प्रकरण मीहीन ढंगले छानबिन गरी संलग्न सवै पक्षलाई कारबाही गर्न समेत माग गरेको छ ।ज्ञापनपत्र बुझाउँदै उक्त समूहले पूँजीबजारमा आम सर्वसाधारणको लगानीकर्ता अधिकांश आधारभुत वर्गसँगका जोडिएका छन्,तिनलाई उज्वल भविश्यको मृगतृष्णा अनुभूति गराएर पूँजिबजारमा आकर्षिंत गरिएको भएपनि सिमित वर्गहरुले तिनका पैसामा चलखेल गरिरहँदा पनि नियामक निकाय धितोपत्र बोर्ड किनाराको साक्षी बनेको भेटिएको आफुहरुलाई स्विकार्य नभएको बताएका छन् ।

ओभर रेटिङ गरी प्रिमियममा आइपीओ जारी गरेको घोराही सिमेन्ट कम्पनीले नक्कली ओभर सब्स्क्राइबिङ देखाएर सर्वसाधारणलाई आइपीओ भर्न प्रेरित गरेको थियो । उक्त कम्पनीको आइपीओ प्रकृयामा भएको चलखेल बाहिरिएपछि हाललाई प्रकृयानै स्थगित गरिएको छ । ७९ लाख ४३ हजार कित्ता आइपिओ प्रिमियम मूल्यमा ल्याउने भनेर हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङसँग सम्झौता गरेको घोराही सिमेन्टमा १४ जनाले मात्रै १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि हाल सम्पूर्ण प्रक्रिया रोक्का गरिएको छ। ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त शेयरका लागि रकम नभएको पाइएको थियो भने सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको भेटिएकाे थियो।हाल आइपीओ प्रकृया रोक्का भएपछि हजारौं सर्वसाधारणको आवेदन दिँदा लगानी भएको पैसा पनि प्रकृया नटुंगिउनजेलका लागि होल्ड गरिएकाे छ । यसले लगानीकर्तामा चरम निराशा पैदा भएको छ ।
घोराही सिमेन्ट आइपीओ प्रकृयामाथिको छानबिन कसरी भैरहेको छ र लगानीकर्ताको रकम के हुन्छ ? भन्ने प्रश्नमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले छानबिन चलिरहेकाे तर अन्तिम टुंगोमा नपुगेको बताए । उनले दोषी उपर कारबाही हुने र छानबिन टुंगोमा पुगेपछि लगानीकर्ताले लगानी फिर्ताकाे इच्छा गरे रकम फिर्ता पाउने पनि जानकारी गराए । प्राथमिक सेयर (आइपिओ) माथि छानबिन गर्न यतिखेर नेपाल धितोपत्र बोर्डका सुपरिवेक्षण विभाग प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा समिति गठन भएर छानबिन भइरहेको छ ।छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन भइरहेको बताएको छ ।

उता ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड पुगेका विप्लव समूहका सदस्यहरुले छिटोभन्दा छिटो छानबिन गरी दोषीलाई कारबाही नगरिए आफ्नै ढंगबाट छानबिन गरी जस्तोसुकै कारबाही गर्न पछि नपर्ने जनाएको छ । यसरी घोराही सिमेन्ट आइपीओ प्रकृयालाई लिएर चौतर्फी दवाबपछि यतिखेर धितोपत्र बोर्ड र अध्यक्ष रमेश हमाल समेत अनुसन्धान छिटो टुंग्याउनुपर्ने दबावमा छन् । मंगलवार विप्लव समूह ज्ञापनपत्र बोकेर बोर्डमा पुग्दै गर्दा हमाल भने बुधवार सम्पत्ति शुद्धिकरण सम्वन्धी कार्यक्रमका लागि क्यानडा जानका लागि हतारिएका देखिन्थे । तथापी उनले घोराही आइपीओ प्रकरण छानबिनलाई छिट्टै किनारा लगाउने प्रतिवद्धता जनाउन भने भ्याए ।




















प्रतिक्रिया