Logo

अर्थ

कुमारी बैंकले सम्झौता विपरीत ऋण असुल्न खोजेपछि अदालत पुगें- दुर्गा प्रसाइँ

ऋण लिएदेखि आजसम्म एक पैसा व्याज नतिरेपछि रिकभरीमा गएका हौंँ–कुमारी बैंक



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले सम्झौता विपरित कुमारी बैंकले ऋण उठाउन खोजेर गलत गरेको आरोप लगाएका छन् । कुमारी बैंकसँग कर्जा लिने समयमा भएको सम्झौता विपरित बैंकले जवरजस्ती गरेपछि बाध्य भएर आफु अदालतको शरणमा पुगेको बताएका छन् ।झापामा आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायी दुर्गा प्रसाइँले कुमारी बैंकसँग लिएको १ अर्व ऋण नतिरेको भन्दै बैंकले ताकेता गरेपछि यतिखेर प्रसाइँ बैंकविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन् ।

कुमारी बैकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता गर्दै पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न,नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका हुन् ।

कलेजले सम्वन्धन् नै पाएन,यो अवस्थामा मैले ऋण कसरी तिर्न सक्छु ?–प्रसाइँ

बैंकबाट ऋण लिएका व्यवसायी दुर्गा प्रसाइँले उनी र बैंकबीच विगतमा भएको सहमतिको कुनै अंश बैंकले पालना नगरेको आरोप लगाउँदै गर्दा यता बैंकले भने ऋणी दुर्गा प्रसाइँले ऋण लगेदेखिको एक किस्ता पनि व्याज नतिरेपछि ताकेता गर्नुपरेको प्रतिक्रिया दिएको छ ।
विराटनगर पुगेका प्रसाइँले भने—‘कुमारी बैंकसँग मैले १ अर्ब ऋण लिएको हुँ । ऋण लिँदा बैंकसँग झपामा रहेको मेडिकल कलेजमा विद्यार्थीको पहिलो इनटेक शुरु भएपछि मात्र अर्थात विद्यार्थी भर्ना भइसकेपछि मात्र व्याज तिर्ने सहमति बनेको हो तर अस्पताल सञ्चालन हुनै पाएन ।, अदालतमा मुद्दा पर्यो, त्यसले गर्दा न त कलेजले सम्वन्धन् नै पायो न त विद्यार्थी नै आए । यो अवस्थामा मैले ऋण कसरी तिर्न सक्छु ?’उनी भन्छन् ।

प्रसाईँका अनुसार हाल सञ्चालनमा रहेको बीएण्डसी अस्पतालका लागि भनेर गत जेठ १६ गते कुमारी बैंकका सीइओहरुसँगको कन्सोर्टियम मिटिङ बसेर अस्पतालका लागि ३२ करोड बराबरको एमआरआई लगायतको मेडिकल इक्विपमेन्ट दिने त्यस्तै १५ करोड बराबरको चालु पूँजी कर्जा दिने सहमति बनेको थियो तर बैकले दिएन । प्रसाइँ भन्छन्–‘मलाई असारमा व्याज बुझाएपछि सामान दिन सक्ने बैंकले भन्यो मैले असारमा व्याज बराबर बैंकलाई ९ करोड बुझाएँ ।,‘सम्झौता बराबर सामान दिइएन फेरी असोज मसान्तमा व्याज बुझाएँ सहमति पालना भएन ।’बैंक र ऋणीबीच भएको सहमति बेगर ऋणीलाई मात्र गलत देखाउने गरी मिडियामा मेरो समाचार जसरी आइरहेको छ यो गलत भयो ।’प्रसाइँ भन्छन् ।

‘शुरुमा सरकारले मेडिकल कलेज खोल्न एलओआई दिएपछि बिर्तामोडमा बीएण्डसी अस्पताल खोलेँ । अस्पताल खोल्न मैले मेरो भएभरको जायजेथा १६ बिघा जग्गा बैंकमा धितो राखेर बैंकसँग कर्जा लिएको हुँ ।बीचमा मुद्दा परेपछि मेडिकल कलेजलाई एफिलिएसन दिइएन र विद्यार्थी पढ्न आउन पाएनन् यसमा सरकार पनि दोषी छ ।’उनी भन्छन् ।

अदालतको आदेशको पर्खाइमा छौँं,चाँडै लोन रिकभरीमा जान्छौं–कुमारी बैंक

यता प्रसाइँमाथि एक अर्व लगानी गरेको कुमारी बैंकले ऋण लिएदेखि एक किस्ता पनि व्याज नतिरेपछि बाध्य भएर असुलीको ताकेता गरेको प्रतिक्रिया दिएको छ । बैंक स्राेतले भन्याे  –‘१ वर्ष भयो,दुर्गा प्रसाइँबाट ऋणको व्याज वापत एक किस्ता पनि पाएका छैनौं ।मेडिकल कलेज त चलेन कमसेकम अस्पताल त चलिरहेको छ, व्याज तिर्नपर्ने हो नि ।’

‘यो बैंक हो यहाँ हजारौं सर्वसाधारणको बचत जम्मा भएको हुन्छ । व्याज पाइने र भनेको समयमा फिर्ता पाइने विश्वासमा सर्वसाधारणले राखेको पैसा ऋणमा लगानी भएको हुन्छ त्यो रकम समयमा फिर्ता नपाए बचतकर्ताको हामीमाथिको विश्वास हराउँछ । त्यो हुन नदिन हामी प्रसाइँमाथि लगानी भएको लोन रिकभरी प्रोसेसमा जाँदैछौं । अहिले यो विषय अदालतमा पुगेको छ । अदालतको टुंगोपछि हामी कर्जाको व्याज साँवा असुल गर्न प्रकृयामा जान्छौं । प्रकृयामा अक्सनमा जान्छौं, कालो सूचिमा राख्ने लगायतका काम हुन्छ’ , बैंकका भनाइ छ ।

प्रकाशित मिति : असार २०, २०८० बुधबार  ८ : ०७ बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।