काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा २०७६ सालमा अध्यक्षमा रहेको कार्यकारी अधिकार खोसेर सदस्य सचिवलाई दिइएको थियाे ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल रहेको बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्ष रहेका डा. अन्जनी कुमार झामा रहेको कार्यकारी अधिकार खोसेर सदस्य सचिव डा. प्रदीप ज्ञवालीलाई दिइएको हो । डा. ज्ञवाली एमाले निकट रहेकाले तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अध्यक्षमा रहेको कार्यकारी पद खोसेर सदस्य सचिवलाई दिइएको बुझिएको छ ।
नेकपा एमालेले स्वास्थ्य अनुसन्धान परिषदमा आफ्नो चाहनाअनुसार काम गराउन तत्कालीन स्वास्थ्य मन्त्री डा. ज्ञवालीलाई कार्यकारी पद दिइएको आरोप लाग्ने गरेको छ । हुन पनि ठ्याक्कै त्यस्तै देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद स्वास्थ्य क्षेत्रको अनुसन्धान गरेर ख्याती कमाएका व्यक्तिहरुलाई नियुक्ती दिएर काम गर्ने एक अनुसन्धान गर्ने थलो भए पनि राजनीतिक दलहरुको अदुरदर्शी नीतिका कारण अहिले विवादमा तानिन थालेको छ । राजनीतिक दलले आफ्ना पार्टीमा आस्था राख्ने स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई आफ्नो सरकार अनुकूल बनाउन यस्ता संस्थाहरुका पदाधिकारी फेरबदल गरिरहेको देखिन्छ ।
नेपाल स्वास्थ्य अनुसनधान परिषदका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झाले आफूमा रहेको कार्यकारी पद खोसिएको विषयबारे आफूलाई कुनै कारण थाहा नभएको बताए । अनलाइन पानासँग कुरा गर्दै उनले भने, ‘काम त्यो बेलामा राम्रै भइरहेको थियो । तत्कालीन मन्त्री भानुभक्त ढकालले के सोच बनाएर त्यस्तो गर्नुभएको हो थाहा भएन ? जति दिन काम गर्न सकियो राम्रै उद्देश्यले गएको हो । यो विषय तत्कालीन मन्त्री भानुभक्त ढकाल ज्यूले नै उत्तर दिनुहोला । जिम्मेवारी लिने व्यक्तिले पनि कुन उद्देश्यले लिनुपरेको हो, उहाँलाई नै थाहा होला ?’ डा. झाले थप भने, ‘कार्यकारी पद अध्यक्षबाट खोसिएपछि म मौन भएर बसेँ । म आफ्नो काममा व्यस्त भएँ । त्यहाँ मेरो कुनै जिम्मेवारी नै रहेन ।’
डा. झा कार्यकारी अधिकार अध्यक्षबाट खोसिएपछि त्यहाँ अध्यक्ष भन्ने पद नै खारेज गरिदिदा उपयुक्त हुने बताउँछन् । अहिले कार्यकारी अध्यक्षको कुनै काम नेपाल स्वास्थ्य अध्ययन अनुसन्धान परिषदमा रहेको छैन । तर पनि जिम्मेवारी बिनाको पद भने रहेको छ । स्रोतका अनुसार डा. झा पनि नेपाली कांग्रेस पार्टी निकट भएकोले नेकपा एमालेको सरकारले एमाले निकट मानिएका डा. ज्ञवालीलाई सदस्य सचिव नै भए पनि अध्यक्षमा रहेको कार्यकारी पद सदस्य सचिवमा हस्तान्तरण गरिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालको स्वास्थ्य क्षेत्रका लागि अनुसन्धाननात्मक कार्यहरु गर्ने उद्देश्य राखेको पाइन्छ । तर अवस्था भने त्यस्तो छैन । यो संस्था राजनीतिक दलहरुका कार्यकर्ता भर्ति केन्द्र भइसकेको छ ।




















प्रतिक्रिया