Logo

अर्थ

सरकारलाई ४ खर्ब बजेट अपुग, राजस्वले तलबभत्ता खुवाउनै मुस्किल



काठमाडौं । सरकारले आर्थिक वर्ष सकिने बेलामा एकै दिन ४१ अर्ब रुपियाँभन्दा बढीको भुक्तानी गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने दिन आइतबारमात्रै ४१ अर्ब ६८ करोड ३९ लाख रुपियाँ भुक्तानी दिएको थियो । महालेखाले आइतबार राति १२ बजेपछि सरकारको सबै भुक्तानी रोकेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सरकारले भुक्तानी रोक्नुपर्ने हुन्छ ।

आइतबारसम्म कुल बजेट ७६ दशमलव ६४ प्रतिशत मात्रै खर्च भएको छ । जेठ मसान्तसम्म कुल ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत मात्रै खर्च भएकोमा असार २४ गते १३ खर्ब ७४ अर्ब ५७ करोड ८१ लाख रुपियाँ खर्च भएको छ । जबकि अघिल्लो दिनसम्म १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपियाँ खर्च भएको थियो । सरकारले अघिल्लो दिनमा चालू ९ खर्ब ८३ अर्ब ३८ करोड १२ लाख रुपियाँ खर्च गरेकोमा आइतबार १० खर्ब १ अर्ब ८२ करोड ४४ लाख रुपियाँ पु¥याएको छ । एक दिनमा चालू खर्चतर्फ १८ अर्ब ४४ करोड रुपियाँ खर्च गरेको छ ।

सरकारलाई चालू आर्थिक वर्षको राजस्वले चालू खर्च धान्न नै नसक्ने स्थितिमा पुर्याएकाृ छ । आइतबारसम्म सरकारले ९ खर्ब ३५ अर्ब ६२ करोड १० लाख रुपियाँ अर्थात् लक्ष्यको ६४ दशमलव १४ प्रतिशत मात्रै आम्दानी गरेको छ । आर्थिक वर्षको अन्त्यसम्म थप राजस्व संकलन हुने भए पनि लक्ष्य भने नपुग्ने स्पष्ट छ ।

सरकारको कुल आम्दानीले कर्मचारीलाई तलबभत्ता खुवाउने खर्चको मात्रै जोहो भएको छ । विकास र ऋणको साँवा ब्याज भुक्तानी गर्न ऋण नै खोज्नुपर्ने स्थिति देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा ४ खर्ब रुपियाँभन्दा बजेट घाटा देखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार ०९:१५   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।