Logo

राजनीति

गृहमन्त्रीबारे भ्रामक प्रचार गरेको भन्दै प्रेस चौतारी अध्यक्षविरुद्ध उजुरी



काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको आरोपमा प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आजै उजुरी दिएका हुन्।

अध्यक्ष बस्नेतले ‘आफूलाई सूचना आएको’  बताउँदै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएका थिए। यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक सञ्जालमा अतिरञ्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ।

सल्लाहकार गिरीले आपराधिक मनोवृत्ति राखेर गृहमन्त्रीप्रति झुटो र कपोलकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानुन अन्तर्गत आवश्यक कारबाही गर्न माग गर्दै निवेदन दर्ता गरेका छन् ।

त्यस्तै इन्द्रप्रसाद आचार्य सम्पादक/प्रकाशक, सूर्यप्रसाद फुयाँल प्रधान सम्पादक र रमण कोइराला प्रबन्ध सम्पादक रहेको जनबोली डटकम नामक जनबोली न्यूज नेटवर्क प्रालिको अनलाइन मिडियाले समेत २०८० साल साउन ४ गते “तौलन नसकिने हालसम्मकै ठूलो परिणाममा सुन बरामद, गृहमन्त्री श्रेष्ठको संलग्नता” शीर्षकमा समाचार प्रकाशन गरेकाे थियाे। उक्त मिडियाले गणेश बस्नेतको स्टाटसलाई नै हवाला दिएर ‘गृहमन्त्री श्रेष्ठले सुन पास गरेको’ समाचारमा उल्लेख गरेकाे छ।

काउन्सिलले आजै पत्र काटी उक्त मिडियालाई काउन्सिलमा उपस्थित भएर समाचार प्रमाणित गर्न अथवा माफीसहित समाचार हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १६:१४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।