Logo

राजनीति

पहिले अनुचित ढंगले बढाइएकोले अहिले सदस्यता घट्यो : एमाले



काठमाडौं । नेकपा एमालेले यसअघिको पार्टी सदस्यता अनुचित ढंगले बढाइएकाले अहिले घटेको जनाएको छ । संगठन विभागले बिहीबार विज्ञप्ति जारी गर्दै विगतमा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गरेका कारण धेरै देखिएको र तर अहिले सक्रिय सदस्यको मात्र रहेकाले कम देखिएको स्पष्ट पारेको छ ।

‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिदिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्थ्यो, संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमालेको इतिहासमा यसपटक त्यसमा क्रमभंग गरिएको छ । महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ संख्या लिन खोजिएको छ ।’

एमालेले अहिले योग्यतम् सदस्यहरूको मात्र नवीकरण गरिएको र दशौं महाधिवेशनका बेला रहेको त्रुटीलाई पनि सच्याउन खोजिएको जनाएको छ । यसअघि एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् रहेको, नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरूको ठूलो संख्या पनि त्यसमा पर्न गएकाले दसस्यहरुको आकार ठूलो देखिएको एमालेले जनाएको छ ।

केहीदिन अघि एमालेको सचिवालय बैठकमा प्रदेश इन्चार्जहरुले प्रस्तुत गरेको विवरणमा ५० प्रतिशत संगठित सदस्यले नवीकरण नगरेको विवरण प्रस्तुत गरेका थिए । जसअनुसार मधेश प्रदेशमा ३० प्रतिशतले मात्रै सदस्यता नवीकरण गरेका थिए । कर्णाली र सुदुर पश्चिममा ३५ देखि ४० प्रतिशत, कोशी र बागमतीमा ५० प्रतिशत, गण्डकी र लुम्बिनीमा ६० देखि ६५ प्रतिशत रहेको जनाएका थिए । एमाले दशौं महाधिवेशनमा ८ लाख संगठित सदस्य रहेको दाबी गर्दै आएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १७:३७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।