Logo

राजनीति

कांग्रेस बैठकमा समाजवादी माेर्चाबारे प्रश्न : गठबन्धनभित्रको पनि गठबन्धन कसका विरुद्ध हो ?



काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सत्ता ‘गठबन्धनभित्र पनि अर्को गठबन्धन कसका विरुद्ध बन्यो ?’ भन्ने प्रश्न उठेको छ । कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गठबनधन सम्बद्ध दलको समाजवादी मोर्चा कसका विरुद्ध हो भन्दै प्रश्न उठाएका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै कोइरालाले समाजवादी केन्द्रको निर्माण कसका विरुद्ध भएको हो भन्ने विषयमा पनि आवश्यक छलफल गर्न जरुरी रहेको बताए । ‘हामीहरु गुटभित्रको पनि गुट भन्छौं नेपाली कांग्रेसभित्र । तर अहिले हामीहरुको गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ समाजवादी केन्द्र’, उनले भने, ‘यो कसका लागि बनेको हो यसबारे पनि हामीले छलफल गर्नुपर्छ ।’

डा.कोइरालाले भ्रष्टाचार र सुशासन अलग विषय भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन दिने कुरामा आस्वस्त पार्न नसके जनताका घरमा भोट माग्न नजाँदा पनि हुने बताए ।

यस्तै सरकारले ल्याएको नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न उनको माग छ । कोइरालाले राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई पनि उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको बताए ।

कोइरालाले भने, ‘नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १४:१९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।