Logo

अर्थ

नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न नेपाल चेम्बरको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ ।

दुई मुलुकबीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेको विषयमा चेम्बरले जोड दिएको हो । नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदुत हास्मीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसँग आग्रह गरे । ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ । सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन’, अध्यक्ष मल्लले भने ।’

निजी क्षेत्रबीचको सहकार्य मार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको अध्यक्ष मल्लले जानकारी गराए ।

पाकिस्ताबाट नेपालले अहिले औषधी, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पललगायतका वस्तु आयत गर्दै आएको भने मह, कफी , चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागोलगायतका बस्तु निर्यात गर्ने गरेको छ ।

काठमाडौं कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लले बताए । यस्तै पर्यटन गतिविधि बढाउन पनि सहज हुने अध्यक्ष मल्लको विश्वास छ । पाकिस्ताबाट वार्षिक औषत ४ हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन ।

राजदूत हास्मीलाई स्वागत गर्ने क्रममा अध्यक्ष मल्लले भने, ‘दुई मुलुकबीचको सीधा हवाई सेवा विस्तार हुने हो भने हालको व्यापार र पर्यटकीय गतिविधीलाई १० गुणा सम्मले वृद्धि गर्न सकिन्छ, ।’

नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तबरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाईदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा हास्मीले जोड दिए ।

 

 

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १६:४५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।