काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै नेतृत्वको कार्यशैलीमा रुपान्तरण आवश्यक रहेको औंल्याएका छन् । बुधबारदेखि कमलादीस्थित पज्ञा प्रतिष्ठान हलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी विधानअनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने र पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको बताएका हुन् ।
बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन् । उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको उल्लेख गरिन् । सांगठनिकरुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने उनको सुझाव थियो ।
अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए । माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए । ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने हो’, उनले भने, ‘जनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् ।’
केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने बताए । त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताए ।
केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए । उनले आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उल्लेख गरे ।
केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामूहिकतामा विश्वास गर्नुपर्ने उनको धारणा थियो ।
केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताइन् । अर्का केन्द्रीय सदस्य युवराज चौलागाईंले केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए ।




















प्रतिक्रिया