Logo

प्रमुख समाचार

माओवादी बैठक : के-के विषयमा भयाे प्रचण्डको आलोचना ?



काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बुधबारदेखि चलेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ।

बैठकमा धारणा राख्ने अधिकांश युवा नेताहरूले अध्यक्ष ‘प्रचण्ड’को कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वले नै गुटलाई प्रश्रय दिएको आरोप लगाएका छन्।

बैठकमा पार्टीले स्वास्थ्य, शिक्षा, कृषि, रोजगार र जनजीविकाका सवालमा आफ्नो धारण बनाउन नसकेको भन्दै आलोचना भएको छ। केन्द्रीय सदस्य दिलीप प्रजापतिले पार्टीमा अराजकता हाबी हुँदै गएको भन्दै विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै पनि भएको आरोप लगाए । प्रजापतिले पार्टीमा रहेका दोहोरो भूमिका हटाउनसमेत माग गरेका छन्। शहरमा पार्टी बनाउन संगठनात्मक संरचना नै फरक बनाइनुपर्ने भन्दै उनले पार्टी सामाजिक सञ्जालको प्रयोगमा चुकिरहेको टिप्पणी गरे । बैठकमा अर्का केन्द्रीय सदस्य हितबहादुर तामाङले पार्टी नेतृत्वको चाकडीका भरमा एकै व्यक्ति पटकपटक मन्त्री भइराख्ने प्रवृत्ति पार्टीमा हाबी हुँदै गएको भन्दै नेतृत्वको विरोध भइरहेको भन्दै नेतृत्व सच्चिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

बैठकको दोस्रो दिन बिहीबार आफ्ना धारणा राख्ने क्रममा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको विचार र व्यवहार लथालिङ्ग अवस्थामा रहेको टिप्पणी गर्दै माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताए। शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेकाले पार्टीका केन्द्रदेखि जिल्ला र भूगोलसम्मका नेता कार्यकर्ताहरू सच्चिनुपर्ने उनकाे भनाइ छ ।

न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट पार्टी ठुलो बनाउने सपना नदेख्न नेतृत्वलाई आग्रह गर्दै भने– ‘अहिले माओवादी पार्टी पार्टीजस्तो देखिएको छैन । विचार र व्यवहार पुरै खराव भइसकेको छ ।

संसदीय प्रणालीमै जाने भए कांग्रेस, एमालेभन्दा माओवादी फरक हुँदैन । विश्व कम्युनिस्ट आन्दोलनमा जसरी विचलन आएको छ, यदि माओवादी पनि त्यसरी नै जाने हो भने त्यो खतरा रहन्छ । त्यसैले, हामीले संसदीय व्यवस्थालाई उपयोग गरेर अर्को क्रान्तिको तयारी गर्नुपर्छ ।’ बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

बैठकमा बोल्ने नेताले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोरा, छोरी, ज्वाइँ राखेको विषय उठाउँदै नेतृत्वको चर्को आलोचना गरेका छन्।

प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न उठाएपछि एकछिन बैठकमा सन्नाटा छाएजस्तो भयो ।

‘अध्यक्ष आफैं रूपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउन सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनुहुन्न ?’ पन्तले बैठकमा भने ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ०८:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।