Logo

प्रमुख समाचार

ललिता निवास प्रकरण : विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए ।

ब्यूरो स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।

राउतले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव नारायण गोपाल मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात कहाँ पेस गरेका हुन् । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री विजय गच्छदारकहाँ पेस गरे । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका हुन् ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललितानिवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै  सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १०:३०   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।