Logo

प्रमुख समाचार

सत्तारुढ र प्रमुख प्रतिपक्षकाे आ–आफ्नै अडानले सदन ठप्प, बार्गेनिङ चलेकाे भन्दै ‘रचनात्मक प्रतिपक्ष’ आक्रोशित



काठमाडौं । संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच सोमबार बसेको दोस्रो चरणको बैठकमा पनि सहमित जुट्न नसकेपछि संसद् बैठक भोलि (मंगलबार) ३ बजेलाई सारिएको छ । संसद्‍ अवरोध खुलाउने सम्बन्धमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक छलफलमा जुटेपनि सहमति हुन सकेन ।

बिहान बसेको बैठकमा सहमति नजुटेपछि साढे ३ बजेपछि अर्को चरणको छलफलमा नेताहरू जुनेपनि बैठक बिनानिष्कर्षमा सकियो । मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको हो ।

बानेश्वरमा बसेको शीर्ष नेताहरूको बैठकपछि सभामुख देवराज घिमिरेले मंगलबार बैठक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । ‘आज संसद् खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो । तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन’, उनले भने, ‘भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ । आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’

सभामुख घिमिरेले दलहरूबीच सहमतिको विकल्प नरहेको बताए । ‘सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन’, उनले भने, ‘मैले अधितकतम रुपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं ।’

प्रमुख दलहरूबीच छलफल चलिरहँदा आफूलाई रचनात्मक प्रतिपक्षी दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने आक्रोशित देखिएको छ । रास्वपा सभापति एवं सांसद रवि लामिछानेले वर्षौंदेखि देशलाई प्यारालाईज्ड गराउनुको कारण आफूहरूले बुझ्दै गएको बताएका छन् । ठूला दलहरूबीच सहमति जुट्न नसक्दा संसद् चल्न नसकेपछि उनले यस्तो बताएका हुन् ।

कयौं कानुन बनाउनुपर्ने, कयौंमा संशोधन गर्नुपर्ने र जनसरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुपर्ने भएपनि बार्गेनिङ मात्र चलेको तर संसद् चल्न नसकेको टिप्पणी गरेका छन् । ‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद।।’ लामिछानेले सामाजिक संजलामा भनेका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक प्रमुख दलहरूबीच सहमति नजुटेकै कारण ४ बजेलाई सारिएको थियो । संसदको अवरोध खोल्ने विषयमा प्रचण्ड, देउवा र ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर मंगलबार दिउँसा ३ बजेलाई सारिएको छ ।

प्रमृुख प्रतिपक्षी एमालेले क्विन्टल सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ । तर सरकार त्यसका लागि तयार छैन । एमालेले आफ्नो कारणले नभएर सरकारकै आग्रहका कारण बैठक रोकिएको दाबी गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १८:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।