Logo

प्रमुख समाचार

उच्चस्तरीय समिति बनाउँदा सुन तस्करीको छानबिन ओझेलमा पर्छ : बामदेव गौतम



काठमाडौं ।  राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करीमा उच्च स्तरीय समिति गठन गरेमा छानबिन ओझेलमा पर्ने बताएका छन् । उनले उच्च स्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र त्यसले गर्दा नयाँ सरकार गठनमा लाग्ने भएकाले छानबिन नै ओझेलमा पर्ने बताए ।

राष्ट्रियसभाको बुधबारको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका गौतमले अन्तरदेशीय गिरोहको सेटिङमा सुन तस्करी भएको कुराको छानबिन हुनुपर्ने पनि बताए ।

‘त्यस (उच्चस्तरीय छानबिन समिति) को निर्माण गर्नेबित्तिकै कार्यादेश हुन्छ, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने भन्ने हुन्छ । त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीसम्म पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने त्यसले अधिकार माग्दछ’, उनले भने, ‘हाम्रोमा निलम्बन गर्ने व्यवस्था त छैन । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ, राजीनामा गरेपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुन्छ, जसले यो छानबिन ओझेलमा पारिदिन्छ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरणको छानबिनका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । उसले गृहमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि नै आशंका रहेको भन्दै नेपाल प्रहरीको सीआईबीले मात्र अनुसन्धान गर्न नसक्ने दाबी गर्दै आएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीलाई छानबिनका लागि ३५ दिनको समय रहेको कुरा उल्लेख गर्दै गौतमले त्यसपछि उच्चस्तरीय छानबिन समिति मागेर जानुपर्ने बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १५:३४   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।