Logo

स्वास्थ्य

मंसिरमा सञ्चालन हुन लागेकाे कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य



सरकारले मंसिरमा सञ्चालन गर्न लागेकाे कक्षा १२ को परीक्षामा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएकाे छ । प्रत्येक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य स्थापना गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षार्थीलाई कोरोना भाइरस संक्रमण हुन नदिन साे व्यवस्था लागू गरिएकाे हाे ।

यसपालि काेराेनाकै कारण विद्यार्थी पढिरहेकै विद्यालयमा परीक्षा केन्द्र बनाइने र प्रत्येक केन्द्रमा स्थानीय तह र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरेर हेल्थ डेस्क राख्नुपर्ने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ मा उल्लेख छ ।

साथै स्वास्थ्य सम्बन्धी अन्य मापदण्ड पनि पूरा गर्नुपर्नेछ । परीक्षार्थीहरूबीचको दुरी कम्तिमा दुई/दुई मिटर कायम गर्नुपर्ने, एउटा कक्षाकाेठामा २० भन्दा बढी विद्यार्थी राख्न नमिल्ने लगायत निर्देशनहरू जारी गरिएकाे छ ।

काेराेना महामारीका कारण राेकिएकाे कक्षा १२ काे परीक्षा आगामी मंसिर ९ गतेदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ । यसपटक कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गरिने र बाँकी ४० प्रतिशत अंक कक्षा ११ बाट तथा २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकन प्राप्तांकबाट जोडेर कुल प्राप्तांक निर्धारण गरिने बोर्डले जनाएको छ ।

प्रकाशित : ११ कार्तिक २०७७, मंगलबार