काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दाबी गरेका छन् । उनले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको दाबी गरे ।
पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै नेता पुनले भने, ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलोपटक सरकार पपुलर भएको छ ।’
पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री प्रचण्ड भएको बताए । त्यसैकारण संसदमा तेश्रो शक्ति भएर पनि माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए ।
‘प्रचण्ड माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता हो’, उनले भने, ‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं । राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो । काँग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ ।’
गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो ।
पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरुसँग चिढिएको बताए । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा समेत पुनले गरे ।




















प्रतिक्रिया