Logo

राजनीति

ओलीले दिने अभिव्यक्ति बिभत्स र घृणास्पद : घनश्याम भुसाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जनयुद्धबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् । उनले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताए ।

शनिबार काठमाडौँमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भुसालले उनले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे ।

उनले भने, ‘अहिले इतिहासको कुरा गर्दा खेरी, हुन त यो राजनीतिक कुरा हुन्छ । यो विरोधको कुरा पनि सुन्न सकिएला । आज फर्केर हेर्दा खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरू कतिपय साथीहरूले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । जतिखेर मिलिन्छ, त्यतिखेर चाहिँ यो महान् कुरा थियो भन्ने । जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतङ्ककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिँ । यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदा खेरी मलाई एकदम उखुम हुन्छ मलाई पनि । अनि, त्यस्तो थियो, त्यसरी आएको हो । शिला टिपेको हो । आदि, इत्यादि ।’

महासचिव भुसालले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १९:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।