Logo

प्रमुख समाचार

मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, एमाले र राप्रपाका सांसद बिदामा



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन् ।

साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ। उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्यौल देखिएको छ ।

विपक्षी दल एमालेका सांसदहरू घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन् । एमालेका ७ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।

कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले निवेदन दर्ता गराएको जानकारी दिए । उनीहरुमध्ये किशोरचन्द्र दुलाल भने अमेरिकामा छन् । अरु सबैले संसद सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताए ।

साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा सदस्य रहेका ९ जना सांसद अनुपस्थित हुने भएपछि मुख्यन्त्री थापाले विश्वासको मत पाउन सकस देखिएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।