Logo

प्रमुख समाचार

माधव र बाबुरामसँग सिआइबीको बयान कि मौकाको कागज मात्र ?



ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम समयमा आएर दुई पूर्वप्रधानमन्त्रीसँग ‘बयान’ लिएको छ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार उनकै निवास कोटेश्वरमा र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सोमबार बिहान उनकै निवास टोखामा पुगेर सिआइबीले बयानमा कागज गराएको छ ।

सिआइबीले दुई पूर्वप्रधानमन्त्रीसँग बयान लिँदा सरकारी वकिल कार्यालयलाई जानकारी नै नगराइ बयान लिएको छ । सिआइबीले सरकारी वकिलबिनै बयान लिएकाले सो विषय बयान हो कि मौकाको कागज भन्ने प्रश्न उठेको छ । यद्यपि, दुई पूर्वप्रधानमन्त्रीसँग सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाउने प्रतिवेदनमा खुलाउने नै छ ।

फौजदारी अनुसन्धानका क्रममा प्रहरीले घटनाको प्रमाण देखेको, जानेको, बुझेको व्यक्तिसँग बुझेर मौकाको कागज गराउँछ । यसमा सरकारी वकिलको उपस्थिति अनिवार्य छैन । साथै मौकाको कागज गरेकाहरू आवश्यक परेको बखत सरकारी साक्षीका रूपमा अदालतमा समेत प्रस्तुत हुनसक्छन् । तर, सामान्यतः उनीहरूलाई मुद्दा चल्दैन ।

प्रहरीले घटनामा संलग्न रहेको आशंका गरेका व्यक्तिहरूसँग भने बयान लिने गर्छ । बयान गराउँदा सरकारी वकिलको उपस्थिति अनिवार्य हुन्छ । साथै, बयान गराइएको व्यक्तिलाई मुद्दा चल्ने वा नचल्ने निर्णय प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले गर्छ ।

भट्टराईले आफूसँग सिआइबीलाई आफूले सत्यतथ्य कुरा जानकारी गराएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् भने नेपालले सो’bout मुख खोलेका छैनन् । ललिता निवास जग्गा प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ माघ २०७६ मा १ सय १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरे पनि सो जग्गा व्यक्तिको नाममा निर्णय गर्ने निर्णयकर्ता दुई पूर्वप्रधानमन्त्री भट्टराई र नेपालले छानबिनबाट उन्मुक्ति पाएका थिए।

मन्त्रिपरिषदको निर्णय गर्नेमा संलग्न मन्त्रीहरू अनुसन्धानको दायरामा तानिरहँदा सोही मन्त्रिपरिषदको अध्यक्षता गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई अनुसन्धानबाहिर थिए । मन्त्रिपरिषदले गरेको निर्णयमा मन्त्री पर्ने तथा प्रधानमन्त्री नपर्ने भन्ने विषय पछिल्लो समय पेचिलो बनिरहेका बेला दुई पूर्वप्रधानमन्त्री भट्टराई र नेपाललाई पनि अनुसन्धान गरिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सो रिट हाल पनि विचाराधीन अवस्थामै छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ०९:००   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।