Logo

प्रमुख समाचार

राप्रपा नेपालले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा, राजतन्त्रबारे पुनर्विचार गरिने



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाइएको केन्द्रीय समिती बैठकका एजेण्डाहरू तय गरी पारित गरेको हो।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे उपाध्यक्ष प्रा.डा. विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरिएकाे महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

साे पार्टीले यसअघि संवैधानिक राजतन्त्रकाे एजेन्डा छाडेकाे थियाे। तर, अब साे एजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिएपछि अबकाे केन्द्रीय समितिमा ब्यापक छलफल हुने जनाइएकाे छ ।

यसै गरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अवसरमा शुभकामना व्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए।

प्रवक्ता अधिकारिका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ०९:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।