Logo

संविधानसभाका पूर्वसदस्य चौधरीको  मृत्यु



संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन  भएको  पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज  तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।  घरमा नै  नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उहाँलाई बिपी प्रतिष्ठान लगिएको थियो ।

 सोही दिन उहाँको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको  छ  । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्थ्यो ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उहाँमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि  प्रतिष्ठानको आइसोलेशनमा उपचारकै क्रममा उहाँको आज मृत्यु भएको नगर प्रमुख  वसन्तकुमार मिश्रले बताउनुभयो  । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले  जनाएको  छ । 

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार  ३ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।