Logo

प्रमुख समाचार

नेतृत्वप्रति कार्यकर्तामा चरम असन्तुष्टि छाएकाे कांग्रेस अभियानको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरू पार्टी नेतृत्वप्रति चरम असन्तुष्ट रहेको पाइएको छ ।

पार्टीको विशेष आन्तरिक अभियानमा खटिएका नेताहरूले कार्यकर्ताहरू पार्टीको अधिवेशन र निर्वाचनका असन्तुष्टिको भारी बोकेर जनतामा जाने प्रवृति बढेको निष्कर्ष निकालेका हुन् ।

‘निर्वाचनमा कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा कहिले आफ्नै अर्न्तकलह, कहिले सांगठानिक अव्यवस्था त कहिलेकाहीँ नेतृत्वको बेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेताहरूको बुझाइ रह्यो,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्ता गठबन्धन गरी निर्वाचनमा भाग लिँदा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पुरानो र ठूलो लोकतान्त्रिक पार्टीले धेरै स्थानमा आफूले छोडेर अरु दललाई समर्थन गर्नुपर्दा अस्वभाविक ढंगले पार्टीका नेतृत्व तहकै साथीमा पनि व्यापक असन्तुष्टि बढेको हो ।’

शीर्ष नेताहरूले भने गठबन्धन गरेकै कारण कांग्रेस पार्टी सबै निर्वाचनमा पहिलो स्थान आएको सन्देशसमेत दिनुपरेको विश्वकर्माले बताए । ‘त्यसका बावजुद पार्टीभित्र र बाहिरबाट कांग्रेसविरुद्ध फैलाइएका नीति र नेतृत्वविरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सिर्जना भएको र यसैकारण पार्टी कमजोर वा शिथिल भएको भनि विपक्षीले फैलाएको भ्रममा हाम्रो पार्टीका साथीहरूसमेत प्रभावित भएको पाइयो,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस संघीय सरकारसहित अधिकांश प्रदेश सरकारको नेतृत्व गरे पनि असन्तुष्टि कायमै रहेको अभियानको निष्कर्ष छ । ‘फलस्वरुप पार्टी पंक्तिमा निराशाको बादल मडारिएको छ । यसैलाई अवसर ठानी विचार, संगठन, सवाल र नीति कार्यक्रमसमेत नभएका दलले गाली, विरोध र अराजक, उत्ताउलो गतिविधिको सहारामा लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सात दशकसम्म बलिदानीपूर्ण क्रान्ति, संघर्ष र आन्दोलन गरेर आएका दलहरू त्यसमा पनि विशेषतः नेपाली कांग्रेसलाई अस्वभाविक ढंगले प्रहार गर्न थालिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।’

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने बताएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ०७:३९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।