विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विशवासको मत लिने क्रममा सत्ता गठबन्धन दलहरूले संविधान मिचेको भन्दै नेकपा एमाले पुन: अदालत जाने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत पुर्याउन सत्ता पक्षले सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्यलाई समेत मतदान गराएर संविधानको हुर्मत लिएको एमालेको आरोप छ ।
हिजो सोमबार उपसभामुख बिरामी भएर काठमाडौं गएपछि कांग्रेस सदस्य ईस्राइल मन्सुरीलाई ज्येष्ठ सदस्यका रुपमा सभा चलाउन अनुमति दिइएको थियो । तर, सत्ता गठबन्धनले उनलाई समेत जबरजस्ती विश्वासको मतको पक्षमा मतदान गर्न लगाएको थियो ।
मन्सुरीले आफू भोट हाल्न जाँदा सभामुखको आसनमा सत्तापक्षकै अर्की सांसद गीता तिमिल्सिनालाई करिब डेढ मिनेट आसन हस्तान्तरण गरेका थिए ।
प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताएका छन् । त्यसो त कोशीको यो घटनालाई लिएर कानुनको धज्जी उडाएको भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ ।
संविधानविद् डा. भीमार्जुन आचार्यले त गठबन्धनको त्यो कदम गलत नै भएको ठोकुवा गरिसकेका छन् ।















प्रतिक्रिया