काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नाकरणका विषयमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् । उनीहरूले कोशीमा जातीयताको नाममा उत्पात मच्चाएको आरोप लगाए ।
पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधवले आफ्नो स्वार्थको लागि जनता लडाएको टिप्पणी गरे । ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । उता भोट हाल्न निर्देशन गर्छन् आइसकेपछि हुँदैन भन्छन्’, ओलीले भने, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालजीका कार्यकर्ता छन् । उफ्रने किरात राईहरू छन्, उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल । नुवाकोटमा एउटा साँढे जुधाई खेल हुन्छ । ती साँढेको केही दुस्मनी हुँदैन । भेट्या पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट फुकाएर अखडामा ल्याएर भिडाउँछन् । उसको भाँचिन्छ सिंह अरु चाहीँ छेउमा बसेर ताली पड्काउँछन् । प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् ।’
अध्यक्ष ओलीले साम्प्रदायिक नारा नदिन पनि भनेका छन् । ‘साप्रदायिक नारा किन दिनुहुन्छ । जनता किन भिडाउनुहुन्छ टाउको उनीहरूको फुट्छ । जातीय नाराको रूपमा ?’, उनले भने, ‘अस्ति म झापा गएँ जातीय नारा उचालेर ढुंगा हाने । एउटा ताप्लेजुङको बाबु प्रहरीमा इन्स्पेक्टर भर्खरै जागिर खान गएको रहेछन् । उनको टाउको फुटाइदिए । कसले फुटाइदिए भन्दा त लिम्बूको टाउको लिम्बूले हानेको ढुंगाले फुटायो । अनि कुन जातीय कुरा हो ?’




















प्रतिक्रिया