Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई गगनको चेतावनी : ‘मसँग बहुमत छ, जे गरेपनि थपडी बजाउँछन् भन्ने नसोच्नुहोला’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जे गरेपनि सांसदहरूले थप्पडी बजाउँछन् भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसद्‍मा पेस गरेका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै यस्तो भनेका हुन् ।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’

थापाले संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको टिप्पणी गरे । ‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ’, उनले भने, ‘कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । कानून मन्त्रीलाई मेरो आग्रह पनि छ २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नबोक्नुस, यसलाई बिसाउनुस् ।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १५:३७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।