काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सदनबाट पारित भएको एमसीसीमाथिको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए त्यसबारे जनतालाई जानकारी दिनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले एमसीसी यथास्थितिमा पास नहुने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपर्ने बाध्यता आफूहरुलाई आइलागेको उनले बताए ।
समाजवादी मोर्चाले बुटवलमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्यसबारे व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुनेबारे जनतालाई स्पष्ट पार्नुपर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् । ‘भोलिदेखि त्यो लागू हुने कुरा सुनिँदैछ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, त्यसमा कुनै अनुचित कुरा बाँकी छन् भने, हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस्’, उनले भने, ‘विदेशीकासामू हामी झुक्नुपर्ने कारण छैन । विदेशीका धम्की हामी स्वीकार्दैनौं ।’
अध्यक्ष नेपालले नेपालको कानुनभन्दा अरुको कानुन माथि हुनै नसक्ने भन्दै कसैलाई शत्रु घोषणा गर्ने पक्षमा पनि नेपाल नरहेको बताए । ‘त्यो इन्डोप्यासिफिक स्ट्राटेजीको अंग हुन सक्दैन । त्यो भनेको चीनलाई घेराउ गर्ने रणनीति हो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन सक्दैन’, उनले भने, ‘हामी कसैलाई शत्रु घोषणा गर्दैनौं । नेपालले नेपालको कानुनभन्दा अरुको कानुन माथि हुनु हुँदैन भन्ने १२ वटा विषयलाई अगाडि सारेको छ ।’
अध्यक्ष नेपालले देशभन्दा ठूलो सत्ता हुन नसक्ने भन्दै पहिला देशलाई बचाउनका लागि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । यस्तै उनले विगतका सरकारबाट भएको कमजोरीका कारण एमसीसी सम्झौता गर्नुपरेको पनि बताएका थिए । एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आएकै दिन सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
















प्रतिक्रिया