नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले लामो समयदेखि एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरिरहेका कर्मचारीको सरुवा गर्न निर्देशन दिएका छन् ।
एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै उनले त्यस्ता कर्मचारीको अन्यत्र सरुवप्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको र यो विषयमा व्यवस्थापन समिति गम्भीर भएर सरुवा प्रक्रियालाई अघि बढाउनु पर्ने उनले बताए । बिहीबार भेरी अस्पतालको अवलोकन गर्दै मन्त्री बस्नेतले उक्त अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताए ।
स्तरोन्नतिका लागि मन्त्रालय आन्तरिक र वाह्य दुवै पक्षसँग व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ । उनका अनुसार अझै व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार रहेको छ ।
मन्त्री बस्नेतले अस्पतालको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिए । गरिब तथा विपन्न परिवारका बिरामीहरूले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनु पर्नेमा उनले जोड दिए ।















प्रतिक्रिया