Logo

प्रमुख समाचार

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा फेरि लाग्यो ताला



काठमाडौं । त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा केही विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।

बुधबार भएको सहमति खारेज हुनुपर्ने माग राखेर उनीहरुले ताला लगाएका हुन । वास्तविक विद्यार्थीको सहभागिता बिनै हजिो सहमति गरिएको भन्दै केही विद्यार्थीहरुले उक्त सहमतिको विरोध गरेका हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुबीच फेरि सहमति नभएसम्म ताला नखोल्ने बताएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरुले आन्दोलन सुरु गरेका थिए । शुल्क वृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।

बुधबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले शुल्क वृद्धि फिर्ता गर्ने र विद्यार्थी प्रतिनिधिसहितको समिति बनाएर नयाँ शुल्क निर्धारण गर्ने सहमति गरेसँगै आमरण अनसनमा विद्यार्थीहरुले अनसन तोडेका थिए । तर उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन् । त्यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त सहमति धोका हो भन्दै सहमति पत्र जलाएको छ ।

अनसनमा बसेकाहरुलाई निर्णयमा संलग्न नगराइएको भन्दै नेविसंघका सुलभ चापागाईंले नेविसंघ पुल्चोक इकाइ सभापतिबाट राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १५:४३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।