काठमाडौं । लुम्बिनी प्रदेशको बुधबार सम्पन्न अधिवेशनमा निर्वाचनमार्फत नेतृत्व चयनसँगै एमालेभित्र औपचारिक रूपमै नयाँ ध्रुवीकरण सुरुवात भएको छ ।
अध्यक्ष केपी ओलीले सहमतिमै नेतृत्व छान्न निर्देशन दिए पनि लुम्बिनीले चुनावबाट अध्यक्षसहितका पदाधिकारी निर्वाचित गरेसँगै दुई समूह सतहमा आएका छन् ।
यो एमालेको पहिलो प्रदेश अधिवेशन भएकाले अन्य प्रदेशमा पनि यस्तै खालको नयाँ ध्रुवीकरण देखिने विश्लेषकहरूको बुझाइ छ ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको ‘अघोषित प्यानल’बीचको कडा प्रतिस्पर्धामा निर्वाचनबाट अध्यक्षमा पौडेलनिकट राधाकृष्ण कँडेल विजयी भएका छन् । पोखरेल पक्षका उम्मेदवार हरि रिजाल झिनो मतले पराजित भएका छन् । नौ सय ६५ मत खसेकोमा कँडेलले रिजाललाई दुई मतको झिनो मतान्तरले पराजित गरेका छन् । रूपन्देहीका पौडेल र दाङका पोखरेल एमालेमा ओलीका उत्तराधिकारीका रूपमा हेरिएका नेता हुन् ।
पदाधिकारीमा पनि पौडेल पक्षको वर्चस्व देखिएको छ । पाँच पदाधिकारीमा उपाध्यक्ष, सचिव र एक उपसचिव कँडेल पक्षबाट निर्वाचित भएका छन् भने रिजाल पक्षबाट एक उपसचिव निर्वाचित भएका छन् । अध्यक्षसहित पदाधिकारीमा १२ जना उम्मेदवार थिए । दुई सय पाँच सदस्यीय प्रदेश कमिटीमा पौडेलनिकट कँडेलकै बहुमत पुग्ने गरी ६० प्रतिशतभन्दा बढी सदस्य निर्वाचित भएका छन् ।
एमालेमा नवौँ महाधिवेशनबाट ओली र माधव नेपाल समूह संस्थागत भएको थियो । अब भने ओलीका उत्तराधिकारी बन्न पौडेल र पोखरेलको नेतृत्वमा नयाँ गुटको उदय भएको राजनीतिक विश्लेषकको टिप्पणी छ । लुम्बिनी अधिवेशनको चुनावी प्रतिस्पर्धाबाट सुरु भएको ध्रुवीकरणले नौवटा प्रदेश अधिवेशन सकिँदासम्म आकार लिइसक्ने उनीहरूको बुझाइ छ ।
पार्टी राजनीतिका लागि विकल्प खुला राखेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि एमालेभित्रको नयाँ ध्रुवीकरणलाई नजिकबाट नियालिरहेको एमालेपंक्तिको बुझाइ छ ।
यद्यपि, प्रदेश अधिवेशनहरूका विषयमा सूचना लिनेबाहेक भण्डारीले रुचि राखेरै पौडेल र पोखरेल समूह कसैलाई सहयोग गरेकी छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।





















प्रतिक्रिया