काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकासमा भारतको योगदान रहेको बताएका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवन उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री साउदले बुधबार उक्त कुरा बताएका हुन् । मन्त्री साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भवनको संयुक्तरुपमा उद्घाटन गरे ।
कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याएको उल्लेख गरे । उनले उक्त विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरुको करिअरमा सहयोग पुर्याउने भएकाले विशेष महत्व रहेको बताए । साउदले नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा रहेको पनि बताए ।
उक्त भवन परियोजना ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार तीन करोड ७४ लाख रुपैयाँ लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ । यस नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल आदि रहेका छन् । जिल्ला समन्वय समिति संखुवासभाले यस परियोजनाको कार्यान्वयन गरेको हो ।
उक्त अवसरमा राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए । राजदूत श्रीवास्तवले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुरुप यो विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको पनि बताए ।
यो सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको दूतावासले जनाएको छ । ‘यस परियोजनाले भारतको नेपालसागको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्न नेपाल सरकारले गरेको प्रयासमा थप बल प्रदान गरेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखियो ।
















प्रतिक्रिया