काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।
कार्यक्रममा महेन्द्र यादवले के बोलेका थिए भन्ने विषयलाइ ल्याएर घटनालाई सामान्य बनाउन खोजिएको भन्दै थापाले विरोध जनाएका हुन् ।
‘कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज ठहर्याउन सक्छ ?’ कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने ।
उनले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न समेत गरे ।
‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो ?,’ उनले भने, ‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’
उनले असन्तुष्टीलाई सम्झाएर भन्दा असन्तुष्टलाई भजाएर अराजकता मच्चाउने पहलकदमी भइरहेको छनक देखिएको बताए ।
विभिन्न कार्यक्रमहरूमा प्रधानमन्त्री र गृहमन्त्रीले ठूला ठूला भाषण मात्रै गरेर नहुने थापाको भनाइ छ ।
कान्ती बाल अस्पतालमा उपचारका लागि लाइन बस्दा बस्दै बच्चाको मृत्यु भएको घटनाको पनि सत्यतथ्य छानबिन गर्न सांसद थापाले माग गरे ।




















प्रतिक्रिया