काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आयोगको उपाध्यक्ष पदको लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस भएकाे स्राेतले जनाएकाे छ ।
आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि पहिलो नम्बरमा डा. झा, दोस्रो नम्बरमा डा. मिश्र र तेस्रो नम्बरमा डा. गिरीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको स्रोतको दाबी छ ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. झा नेपाली कांग्रेस निकट चिकित्सक मानिन्छन्। डा. आयोगका वर्तमान उपाध्यक्ष समेत हुन् भने डा. गिरी माओवादी निकट मानिन्छन् । त्यस्तै, डा. मिश्र पूर्वस्वास्थ्य सचिव हुन् । उनी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट समेत मानिने चर्चा छ । वर्तमान उपाध्यक्ष डा. गिरीको कार्यकाल भदौ २५ मा सकिँदैछ ।
नाम सिफारिस भएको तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षमा नियुक्ति गर्छ । आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो । उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौ १७ र १८ गते अन्तरर्वार्ता र प्रस्तुतिकरण हेरेको थियो ।
आयोगको उपाध्यक्ष पदका लागि प्रा.डा. संगिता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा. पियुस दाहाल र प्रा.डा. विधान निधि पौडेलले दरखास्त दिएका दिए ।
वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीले पनि आवेदन दिएका थिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ । ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ । ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ । आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन् ।
















प्रतिक्रिया