काठमाडौं । पछिल्लो समय संघीय सरकारका मन्त्रीहरू विदेश भ्रमणमा जाने क्रम ह्वात्तै बढेको छ ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ‘नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने’ उल्लेख भए पनि मन्त्रीहरू अनिवार्य भन्दै विदेश भ्रमणमा गएका हुन् ।
बजेट भाषणअघि यस्ता कार्यक्रममा सचिवले देशलाई नेतृत्व गर्ने गरेका थिए । बजेट भाषणपछि व्यवस्था खुकुलो भएसँगै मन्त्रीहरू नै अघि सरेका हुन् । विदेश भ्रमणमा जाने मन्त्रीको सूचीमा अग्रस्थानमै अर्थमन्त्री डा. प्रकाशशरण महत आउँछन् । गत जेठ १५ मा बजेट भाषण गरेयता मन्त्री महत, परराष्ट्रमन्त्री एनपी साउद र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् सर्वाधिक विदेश सयरमा गएका छन् ।
बजेट भाषणपछि कुन–कुन मन्त्री कहाँ–कहाँ गए ?
जेठ १७ देखि सुरु प्रधानमन्त्रीको भारत भ्रमणमा प्रधानमन्त्री दाहालसहित ६ मन्त्री सहभागी थिए । भ्रमण टोलीमा समावेश मन्त्रीहरूमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाल सहभागी थिए । जुन ५ देखि ९ सम्म केन्यामा सम्पन्न संयुक्त राष्ट्रसंघ ह्याबिट्याट एसेम्ब्लीमा सहरी विकासमन्त्री सीता गुरुङ सहभागी भएकी थिइन् । स्विट्जरल्यान्टमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी सहभागी भएर फर्केका छन् ।
यता खेलकुदमा एन्टिडोपिङबारे १८ औं एसिया/ओसिनिया क्षेत्रीय अन्तरसरकारी वैठकमा सहभागी हुन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू श्रीलंका गएका थिए। चीनमा सम्पन्न १९औं वेस्टर्न चाइना इन्टरनेसनल फेयरमा सहभागी हुने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । ओमनमा सम्पन्न गैरआवासीय नेपाली संघको ८ औं मध्यपूर्वी क्षेत्रीय सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रमुख अतिथिको रूपमा सहभागी रहँदा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी पनि सहभागी थिए। विदेश भ्रमणमा जाने मन्त्रीमात्र छैनन् ।
संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा सम्पन्न दिगो विकासका लागि उच्च्स्तरीय राजनीतिक मञ्चमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ सहभागी रहे। चीनमा सम्पन्न फोरम अन ग्लोबल एक्सन फर सेयर्ड डेभलपमेन्टमा पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष श्रेष्ठ नै सहभागी भएका थिए ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संयुक्त अरब इमिरेट्समा सम्पन्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको ५ औं वैठकमा नेपालको प्रतिनिधि गर्दा अजरबैजानमा सम्पन्न असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री साउद गरेका थिए ।
कोरियामा सम्पन्न २०२३ ग्लोबल साइमौल अनडोङ मिनिस्ट्रियल मिटिङमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी सहभागी रहे । जापानमा सम्पन्न उच्चस्तरीय जाइका अफिसियल वैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सहभागी भएर फर्केका छन् । थाइल्यान्डमा सम्पन्न चौथो बहुभाषिक शिक्षाबारे चौथो उच्चस्तरीय नीतिगत मञ्च तथा भाषा र शिक्षाबारे ७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी सहभागी बनिन् ।
भारतमा सम्पन्न तेस्रो जी २० अर्थमन्त्रीस्तरीय वैठकमा अर्थमन्त्री महत सहभागी भएर फर्के । थाइल्यान्डमा सम्पन्न बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा परराष्ट्रमन्त्री साउद उपस्थित भएका थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल इटलीमा सम्पन्न संयुक्त राष्ट्रसंघ खाद्य प्रणाली २०२३ स्टकटेकिङ मुमेन्टमा सहभागी बनेर फर्कियो । टोलीमा कृषिमन्त्री भुसाल पनि सहभागी थिए । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
















प्रतिक्रिया