काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो ।
भ्रमण टोलीमा अध्यक्ष राजेन्द्र मल्ल, निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर रहेका छन् । भ्रमणका क्रममा चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल हुने अध्यक्ष मल्लले बताए ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचका निजी क्षेत्रबीच दुई पक्षीय व्यापार सहजीकरण, पूर्वाधारमा लगानीलगायतका विषयमा छलफल हुुँदैछ । नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर ब्यापार सहजीकरण गर्ने विषय चेम्बरको प्राथमिकतामा रहेको मल्लले बताए ।
नेपाल चीनबीच यसअघि भएको पारवहन सम्झौताको प्रभावकारी कार्यन्वयन र सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा चीनको निजी क्षेत्रसँग छलफल गर्ने चेम्बरले जनाएको छ । अध्यक्ष मल्लले भने, ‘चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङजस्ता भन्सार नाकाहरुमा स्तरोन्नती गरिनुपर्दछ । यो विषयलाई पनि उठान गर्नेछौं ।’
अध्यक्ष मल्लले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिने बताएका छन् ।
















प्रतिक्रिया