Logo

कर्णाली प्रदेश

दोस्रो कर्णाली चलचित्र कार्यशाला मंसिर पाँचबाट सुरु हुने



काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ५ मंसिरबाट ११ मंसिरसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ ।

केवी इन्टरटेनमेन्ट प्रालिले कर्णालीमा दोश्रो पटक चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो । गत वर्ष असारको दास्रो साता चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धी आधारभूत कोर्स सिकेका विद्यार्थी र अन्य नयाँ विद्यार्थीहरुलाई यसपटक चलचित्रबारे ‘एडभान्स कोर्ष’को प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं’, अध्यक्ष खड्काले भने ।

यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले चलचित्र निर्माण सम्बन्धी विशेष क्लास लिने भएका छन् ।

चलचित्र लेखक/निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षेत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिने छिन् भने छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायाँकन सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने छन् ।

कार्यशालामा सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछिन् । यस्तै, फिल्म सम्पादक प्रितम पाण्डेले कार्यक्रममा फिल्म सम्पादन सम्बन्धी कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विद्यार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने छन् ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरुले यो कार्यशालामा भाग लिने भएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, आयल निगम, नविल बैंक, कृषि विकास बैंकको सहयोग रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १६:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।