Logo

खेलकुद

टी–२० आईमा नेपालले बनायो कीर्तिमान नै कीर्तिमान



काठमाडौं । १९औं एसियाली खेलकुदमा नवप्रवेशी मंगोलिया विरुद्ध शानदार जित निकालेको नेपालले कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा नेपाली खेलाडीहरूले विश्वका चर्चित खेलाडीहरूका नाममा रहेका आधा जर्दन बढी रेकर्ड तोडेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मगोलियालाई नेपालले १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो । यसक्रममा नेपालले टी–२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।

  • कीर्तिमानी स्कोर

नेपालले २० ओभरमा तीन विकेट गुमाएर सर्वाधिक ३१४ रन बनायो । यो टी–२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो ।

  • सर्वाधिक रन रेट

नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३/९ को रन रेट कायम गरेको थियो ।

  • सर्वाधिक छक्का

टी–२० आईमा सर्वाधिक छक्का प्रहारकाे रेकर्ड पनि नेपालको नाममा रह्याे । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरूले २६ छक्का हाने, जुन  नयाँ कीर्तिमान हो ।

यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए ।

  • कुशलको कीर्तिमानी शतक

मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले कीर्तिमानी बनाए । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै  दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।

  • ऐरीको नाममा दुई नयाँ रेकर्ड

मंगोलियाविरुद्ध भएको खेलका क्रममा नेपालका अलराउण्डर   दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् । मात्र ९ बलमा अर्धशतक बनाएर उनी टी–२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

यस्तै, ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो । त्यो हो हाइएस्ट स्ट्राइक रेट । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो । उनले वेष्ट इण्डिजका डवेन स्मिथको नाममा रहेकाे याे रेकर्ड आफ्नाे नाममा ल्याएका हुन् । डवेनले १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाउँदा स्ट्राइक रेट ४१४‍.२८ थियो ।

  • ठूलो अन्तरको जित

नेपालले टी–२० आईमा सर्वाधिक अन्तरकाे जित कालेर अर्काे रेकर्ड बनाएकाे छ । मंगोलियालाई नेपालले २७३ रनले हरायाे । याे टी–२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:४०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।