Logo

कर्णाली प्रदेश

नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी



नेपालगन्ज । अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ ।

धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि जारी गरिएकाे कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् ।

हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।

मंगलबार भएको झडपमा तीनजना सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।

नेपालगन्जमा एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढ्दै गएपछि हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपीन आर्चायले एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यु लगाएको जानकारी गराएका छन् ।

मंगलबार बिहान मात्र नेपालगन्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै सद्भाव र्‍याली समेत निकालिएको थियो ।

सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ०९:४९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।