दमक । झापाको दमक-८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बाट संचालक डा.चन्द्र प्रकाश गैरेले २ करोड बढी रकम अपचलन गरेको आन्तरिक विवाद समाधान समितिले औंल्याएको छ ।
दमक नगरपालिकाको वडा नं. ८ कार्यालयद्धारा हस्पिटलका मालिकहरुबीचको जारी विवाद मिलाउन गठन गरिएको समितिले वडालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
संचालक गैरे बिराटनगरस्थित बिराट टिचिङ हस्पिटलमा फुलटाइम काम गर्छन् भने दमककै ओम शान्ति डेन्टल हस्पिटलका मालिक हुन् । उनी ओम शान्तिमा बिदाका दिन आएर काम गर्ने गर्छन् ।
दमक हस्पिटलका मालिकहरुको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि वडा नं. ८ कार्यलयमा भएको सर्वपक्षीय भेलाले विवादबारे अध्ययन गर्न वडा सदस्य खेमबहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिमा अम्बिका खनाल, लिला गुरागाईं, डिल्लीप्रसाद न्यौपाने र कृष्ण कार्की सदस्य थिए । समितिले केही दिन अघि ८ नं. वडा कार्यालयका अध्यक्ष दिपेश दाहाललाई प्रतिवेदन बुझाएको थियो ।
हस्पिटल एकलौटी संचालन गर्दै डा. गैरेले २ करोड बढी अपचलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनले हस्पिटलको शेयर दिने भन्दै उठाएको रकम र हस्पिटलबाट अपचलन गरेको रकम २ करोडबढी देखिएको हो । हस्पिटलमा कार्यरत डाक्टर सञ्जय रिमाल, डाक्टरहरु प्रकाश शर्मा, बिमला बुढाथोकी, दिब्य तुलाचन, लिलासुन्दर श्रेष्ठसहित ८ जनालाई शेयर दिने भनेर ६१ लाख उठाएर लगेको तर शेयर नदिएको समितिको प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै आफन्तसहित बिभिन्न ब्यक्तिको नाममा चेक काटेर संचालक गैरेले ठुलो रकम अपचलन गरेको र सो रकम हस्पिटलमा जम्मा गर्न पनि समितिले सुझाव दिएको छ । उनले हस्पिटलको फार्मेसी ठेक्कामा लिएर चलाएको र सम्झौता अनुसार हस्पिटललाई रकम नदिएको समितिले औल्याएको छ। बिक्रीको १५ प्रतिशत रकम दिने सम्झौता गरि फार्मेसी संचालन गरेको र तर त्यसबापत गैरेले ६१ लाखबढी रकम हस्पिटललाई दिनुपर्ने समितिले सुझाएको छ ।
हस्पिटलबाट बाहिर जाने ल्याव टेस्ट भनेर बिभिन्न मितिमा संचालक संचालक गैरेले २९ लाख अपचलन गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । दमक हस्पिटलबाट आउटसोर्सका लागि दमककै निर्णायक रेफेरेन्स ल्याव प्रालिमा स्याम्पल गएको तर सो रकम निर्णायक ल्याव वा अन्य ल्यावलाई नदिई आफैँ लगेको देखिएको समितिले जनाएको छ ।
मालिकहरुको आन्तरिक विवादका कारण हस्पिटल बन्द हुनसक्ने सम्भावना देखिएको भन्दै समितिले प्रतिवेदनमा त्यसका लागि स्थानीय सरकारलाई दुबै पक्षलाई राखेर वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएको छ ।
मालिकहरुको आन्तरिक द्धन्दले हस्पिटल बन्द भए त्यसले ६ दर्जन बढी बेरोजगारी हुने, लगानीकर्ताको करोडौँ डुब्ने र सर्वसाधारण स्वास्थ्य बिमा सुबिधासहितको स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुपर्ने अवस्था देखिन्छ प्रतिवेदनमा उल्लेख छ । संचालककै आन्तरिक विवादका कारण हस्पिटल बन्द हुनुहुँदैन र स्वास्थ्य जस्तो महत्वपूर्ण सेवा पाउनबाट जो कोही पनि बञ्चित हुनुहुँदैन भन्दै प्रतिवेदनमा भनिएको छ ।
विवादका कारण हस्पिटल प्रशासन र कर्मचारीलाई काम गर्न निक्कै तनाव देखिएको र संचालककै आन्तरिक विवादमा पर्नु र बन्द हुनु कसैको हितमा हुँदैन ।
प्रतिवेदनमा हस्पिटलका मालिकहरुबीच विवाद हुनुका मुख्य कारण नै संचालक डा.गैरेले एकलौटी निर्णय गर्दै हस्पिटल संचालन गर्नु र आर्थिक अपचलन गर्नु देखिएको उल्लेख गरिएको छ । ७ जना मालिक भएपनि संचालक गैरेले ४ आर्थिक बर्ष आफुखुसी एकलौटी चलाएको देखिएको छ ।
प्रतिवेदनमा भनिएको छ : करिब ४ आर्थिक बर्ष आफुखुशी एकलौटी आर्थिक कारोबारदेखि हस्पिटलको सम्पुर्ण कारोबार गरेको देखिएको छ। संस्थामा कहिल्यै संस्थागत निर्णय र साधारण सभा गरेको देखिदैन। हस्पिटलको ५० प्रतिशत शेयर काठमाडाैँका अर्का डाक्टर निराजन भुसालको नाममा छ र उनी हस्पिटलका अध्यक्ष हुन्। तर, उनी हस्पिटलको संस्थागत काममा आएको देखिँदैन र संस्थागत निर्णयमा उपस्थित भएको देखिदैन : प्रतिवेदनमा उल्लेख छ।
हस्पिटलको सम्पूर्ण आय विवरण प्रष्ट देखिए पनि ब्यय विवरण अस्पष्ट र अपारदर्शी देखिएको प्रतिवेदनमा उल्लेख गर्दै भनिएको छ : ब्ययको ५० प्रतिशत बढीको आधिकारिक बिल भौचर देखिँदैन, ठुलो रकमको चेक ब्यक्तिको नाममा काटेर रकम अपचलन गरेको देखिन्छ । कर कार्यलयमा कर बुझाउँदा, स्वास्थ्य बिमा ल्याउँदा, बिमाको रकम ल्याउँदा र हस्पिटल नवीकरण गर्दा ठुलो रकम खर्च गरेको भनिए पनि त्यसको आधिकारिक बिल भरपाइ नदेखिएको समितिले औल्याएको छ ।
अस्पतालले ४ आर्थिक वर्षमा १६ करोड बढी आम्दानी गरेको देखिएको छ । तर, खर्चको विवरण आय ब्यय विवरण प्रमाणित हुन नसक्ने र अपारदर्शी देखिएको समितिले औल्याएको छ । संचालकहरुबीच विवादको मुख्य विषय पनि ब्यय विवरण पारदर्शी नहुनु हो। हस्पिटलले डाक्टरसहित बिभिन्न बिक्रेताहरुलाई २ करोड बढी तिर्न बाँकी रहेको देखिन्छ ।




















प्रतिक्रिया