काठमाडाैं । लामो विवादपछि इन्जिनियरिङ अध्ययनको शुल्क विवाद टुंगिएको छ ।
नयाँ सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क पूर्ण शुल्कीयतर्फ धरौटीसहित एक लाख ९० हजार र निःशुल्क तर्फ पनि १० हजार बढाएको छ । अब शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहको नियमित तर्फ ५६ हजार ७००, पूर्ण शुल्कीय तर्फको (धरौटी सहित) चार लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको संस्थानले जनाएको छ । र प्रवेश परीक्षाका लागि २२ असोजदेखि २४ गतेसम्म फराम भर्नुपर्ने र १४ कात्तिकमा प्रवेश परीक्षा हुने संस्थानले जनाएकाे छ ।
इन्जिनियरिङ अध्ययन संस्थानले ५४ सालदेखि पूर्ण शुल्कीयतर्फ तीन लाख १८ हजारमा पढाउँदै आएको थियो । गत शुक्रबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समेतको उपस्थितिमा संस्थान, प्राध्यापक संघ संगठन र विद्यार्थी संगठनहरुहरुबीच भएको छलफलमा नयाँ सहमति जुट्यो ।
शुक्रबार भएको छलफलमा इन्जिनियरिङ अध्ययन संस्थानको डीन कार्यालयले यो शैक्षिक सत्रमा न्यूनतम चार लाख ९९ हजार तोक्ने र प्रत्येक वर्ष शुल्कतर्फ १० प्रतिशत बढाउने प्रस्ताव राखेको थियो । तर विद्यार्थी संघसंगठनहरुले साढे चार लाख भन्दाबढी बढाउन नहुने अडान लिए । डीन कार्यालयले भने पाँच लाखभन्दा तल झरेर शुल्क तोक्न नसक्ने, तर त्रिवि पदाधिकारीले क्याम्पस प्रमुख, प्राध्यापक संघसंगठन र विद्यार्थी संगठनबीच सहमति जुटाए कार्यान्वयन भने गराउने बतायो ।
डीन तथा सहायक डीनहरुले त्योभन्दा कम शुल्क तोक्न दबाब दिए राजीनामा दिएर जाने अडान लिए । तर त्रिवि पदाधिकारीहरुहरुले संस्था बचाउनको लागि पनि त्रिविले जुटाएको सहमति मान्न अनुरोध गरेपछि मानेको संस्थानका सहायक डीन प्रा.डा.पोख्रेल बताउँछन् ।
शुल्क विवादका बीच पुल्चोक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा उप–प्रमुखहरुले राजीनामा दिएका थिए । शुल्क विवाद समाधान भएसँगै उनीहरु काममा फर्कने भएका छन् । उनीहरुको राजीनामा स्वीकृत नभइसकेकोले आन्तरिक सर्कुलर गरेर काममा फर्काउन डीन कार्यालयले तयारी गरेको छ ।





















प्रतिक्रिया