Logo

प्रमुख समाचार

किष्ट शिक्षण अस्पतालमा एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण



काठमाडौं । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एकै पटकमा एक जना बिरामीको कलेजो र मिर्गौला प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको छ ।

नेपालमा पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको हो ।

सोमबार अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया गरी नेपाली चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण सम्पन्न गरेको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले दाबी गरे ।

चितवन, भरतपुरकी ३४ वर्षीय एक महिलाको कलेजो र मिर्गौला एकसाथ प्रत्यारोपण गरिएको अस्पतालको भनाइ छ । उनलाई ३४ वर्षीय श्रीमानले कलेजो र उनकी ३२ वर्षीय भाउजूले मिर्गौला दान गरेका थिए ।

बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए ।

मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ ।

एकैसाथ दुवै अङ्गको प्रत्यारोपण सम्बन्धी शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको प्रा. डा. बज्राचार्यले बताए ।

सो शल्यक्रिया सम्पन्न गर्न वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसियु क्रिटिकल केयर विशेषज्ञ, ब्लडबैंक विशेषज्ञ, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसियलिस्ट फिजिसियन, सर्जन तथा नर्सिङका दक्ष प्राविधिक गरी ११५ जना परिचालन गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १४:२५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।