Logo

पत्रपत्रिका

कोशीमा एमालेको दाउ असफल पार्न कार्कीलाई नै समर्थन गर्ने गृहकार्यमा प्रचण्ड-देउवा



काठमाडौं । कोशीमा मुख्यमन्त्री चयनमा गठबन्धन टुटाउन एमालेले लिएको रणनीति विफल पार्न सत्ता साझेदार दल रणनीतिमा लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको रणनीति असफल पार्न ससर्त केदार कार्कीलाई समर्थन गर्ने गृहकार्य सुरु गरेका छन् ।

मुख्यमन्त्रीमा एमालेको समर्थन त्यागे कांग्रेसका कार्कीलाई अघि बढाउन सकिने गठबन्धनले जनाएको छ। एमालेको समर्थन कायम रहेको अवस्थामा कार्कीलाई समर्थन गर्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले नेता शेखर कोइरालालाई गठबन्धनका तर्फबाट कार्कीलाई अघि सार्न आग्रह गरेका थिए । तर, कोइरालाले एमालेसँग भएको सहमति तोड्न अप्ठ्यारो हुने भन्दै अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहालले एमाले समर्थन त्यागेर गठबन्धनमा आए मुख्यमन्त्रीका लागि माओवादी उम्मेदवार इन्द्रबहादुर आङ्बोलाई फिर्ता बोलाउने बताएका छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्कीलाई गठबन्धनको उम्मेदवार बनाउने प्रयास सफल नभएको बताए। ‘एमालेको समर्थन फिर्ता गरी केदारजीलाई गठबन्धनको उम्मेदवार बनाउन प्रधानमन्त्री र पार्टी सभापति देउवाजी तयार हुनुभएको हो,’ उनले भने, ‘शेखर कोइरालाले एमालेसँग भएको सहमति तोड्न कठिन हुने अडान राख्नुभयो ।’

यसबारे छलफल गर्न शुक्रबार अपराह्न बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कोइराला सहभागी भएनन् । दिउँसो १ बजे प्रधानमन्त्री निवासमा भएको बैठकमा भने कोइराला गएका थिए । त्यहाँ प्रधानमन्त्री दाहालले गठबन्धन जोगाउन माओवादीका आङ्बोलाई फिर्ता गराएर कांग्रेसकै साझा उम्मेदवार बनाउन प्रस्ताव राखेका थिए ।

‘समस्या गठबन्धनभित्र छैन, कांग्रेसभित्र छ, त्यसैले तपाईंहरू मिल्नुहोस्, गठबन्धन जोगाउन माओवादी जस्तोसुकै निर्णय लिन तयार छ,’ प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने, ‘पदाधिकारी र कार्यसम्पादन समितिका सदस्य कोशी विद्रोहप्रति असहमत हुनुभयो, यसलाई स्वीकार्न नसकिने निष्कर्ष रह्यो ।’

महामन्त्री गगन थापा काठमाडौं बाहिर भएकाले बैठकमा उपस्थित भएनन्  । अर्का महामन्त्री विश्वप्रकाश शर्माले धुम्बाराही र बालुवाटार बैठकमा एमालेको समर्थनमा कार्कीको उम्मेदवारीलाई स्वीकार्न नसकिने धारणा राखेका थिए ।

उनले २०५१ सालपछि कांग्रेसमा यसखालको विद्रोह भएको बताएका थिए । ‘पार्टी निर्णयबाट कसैले पनि बाहिर जान मिल्दैन,’ उनले भनेका थिए  । देउवाले शनिबार कार्यसम्पादन समिति बैठक बोलाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ०७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।