काठमाडाैं । प्रधानमन्त्री र कांग्रेस सभापतिसँग गठबन्धन कायमै राख्ने सहमति गरेका डा. शेखर कोइरालाले एमालेसँग घोषित सहकार्य अगाडि बढाएका छन् । उनको समूहबाट कोशीमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री बनाएर यसलाई औपचारिकता दिएका छन् ।
कोइरालाको कदमले कांग्रेसको संस्थापन पक्ष सशंकित बनेको छ । कांग्रेसको संस्थापन पक्ष र सत्तागठबन्धन डा. कोइरालाले कोशीमा चालेको कदमको अन्य प्रदेश र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा मन्थनमा जुटेका छन् । विश्लेषकहरू यो कांग्रेसको शेखर समूह र कोशीका मुख्यमन्त्रीले लिने रणनीतिमा भर पर्ने बताउँछन् ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै उनले एमालेका रामबहादुर रानामगर र कांग्रेसका आफ्नो समूहका शमशेर राईलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । काठमाडौंमा डा. कोइरालालाई भेटेर विराटनगर पुगेलगत्तै कार्कीले एमालेलाई सरकारमा सहभागी गराउने कदम चालेका हुन् ।
गठबन्धनले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने सहमति जनाएको छ । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने–नदिने, सरकारमा सहभागी हुने–नहुनेलगायतका विषयमा ठोस निर्णय भएका छैनन् । तर, कोशीको पछिल्लो कदमप्रति कांग्रेसको संस्थापन पक्षको प्रतिक्रिया अलि फरक छ ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादव नेताहरूबीच गठबन्धन जोगाउन सहमति भए पनि जटिलता रहेको बताउँछन् । कांग्रेस, गठबन्धन र मुख्यमन्त्री कार्कीका लागि अबको बाटो सहज नभएको उनको टिप्पणी छ । उनका अनुसार मध्यावधि अझै टरेको छैन । मध्यावधि रोक्नेसम्म कोइरालाको कदम स्वीकार्य भए पनि अगाडि उनले लिने रणनीतिमा कांग्रेस संस्थापनको नजर रहनेछ ।
‘कांग्रेसले एमालेसँग गठबन्धन गरेको छैन। तर, कोशीमा कांग्रेसको विद्रोही र एमाले मिलेर सरकार बनेको छ । त्यसकारण कोशीले जटिलता निम्त्याएको छ,’ उनले भने, ‘एमालेले पहिलादेखि नै गठबन्धनमा बल्छी हाल्न खोजेकै थियो, कोशीमा सफल भएको छ । त्यसको प्रभाव अरू प्रदेश र केन्द्रमा थोरबहुत पर्छ । कांग्रेस, मुख्यमन्त्री र गठबन्धनलाई सजिलो छैन । मध्यावधिमा जाने सम्भावना टरेको छैन ।’
कोइराला समूहले कोशीमा आवश्यकताका आधारमा एमालेसँग सहकार्य भएकाले अरू प्रदेश र राष्ट्रिय राजनीतिमा असर नपर्ने दाबी गरेको छ । शेखर–गगन समूहनिकट केन्द्रीय सदस्य मधु आचार्य कोशीको अन्य प्रदेश र केन्द्रीय राजनीतिमा पर्ने–नपर्ने संस्थापनको भूमिकामा भर पर्ने बताउँछन् । ‘मुख्यमन्त्रीलाई सबै दलले समर्थन गर्नु र वातावरण तयार गर्नुको विकल्प छैन । पार्टीमा पेलेर गएको परिणाम कोशीको विस्फोटन हो ।
कोशीमा त्यही रूपमा सभापतिज्यू कसरी अगाडि बढ्नुहुन्छ त्यसको आधारमा अरू प्रदेश र केन्द्रको समीकरणमा असर देखिन्छ,’ आचार्यले भने, ‘कोशीमा मध्यावधि रोक्न सबै दल तयार छन् । फरक परिस्थितिमा सर्वदलीय सहमतिको सरकार बनाउन लाग्नुबाहेक विकल्प छैन। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।





















प्रतिक्रिया