एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चार दिनमा दोस्रो पटक इजरायल पुगेका छन् । उनले जेरुसेलममा नेताहरूलाई भेट्ने र गाजामा जारी द्वन्द्वबारे छलफल गर्ने बताइएको छ।
इजरायलले गाजामा निरन्तर गरेको आक्रमणमा गाजा क्षेत्रको अवस्था तहसनहस भएको बेला ब्लिन्केन विभिन्न अरबी देशहरुका नेतासँग भेटेर उनीहरुको साथ सहयोग र चासोको निष्कर्ष र युद्धको भावी रणनीतिबारे जानकारी साटासाट गर्न फेरि तेल अवीव पुगेको बताइएको छ । यसअघि ब्लिन्केन बिहीबार इजरायलको राजधानी तेल अवीभ पुगेका थिए । त्यतिबेला पनि उनी इजरायलप्रति अमेरिकाको समर्थन देखाउन आएका थिए । त्यसपछि उनले ६ अरब देशको भ्रमण गरे । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलको भ्रमण गर्ने अनुमान गरिएको छ ।
युद्धमा अहिले के भइरहेको छ ?
करिब १० लाख प्यालेस्टाइनीहरू उत्तरी गाजा छोडेर दक्षिणी क्षेत्रमा पुगेको विश्वास गरिएको छ। एक दिनअघि इजरायलले त्यहाँका नागरिकलाई उत्तरी गाजा क्षेत्र खाली गर्न भनेको थियो। इजरायलले यहाँ ठूलो मात्रामा हमास समूहका लडाकू जमीनमूनि सुरुङ बनाएर बसेको आशंकामा ग्राउण्ड युद्ध पनि सँगै गर्ने भनेर उक्त क्षेत्रका नागरिकलाई ठाउँ छाडेर दक्षिणी क्षेत्र जान भनेको हो ।
इजरायली सेनाले हमासले १९९ इजरायली नागरिकलाई बन्धक बनाएर गाजामा राखेको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासले युद्धविरामको खबरलाई अस्वीकार गरेका छन् ।
मानवीय आधारमा रफा क्रसिङ खोल्दा युद्धविराममा सहमति भएको समाचारमा जनाइएको थियो । तर दुवै पक्षले उक्त विषय अस्वीकार गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा तत्काल युद्धविराम लागू गर्नुपर्नेमा जोड दिइरहेको छ । गाजा क्षेत्रमा नागरिकहरुमाथि हमला गरिएको र धेरै बालबालिकाको ज्यान गएको यूएनले जनाएको छ ।
गाजा क्षेत्रमा खाद्यान्न, औषधि र इन्धनको समस्या गएको दुई दिनदेखि आइरहेको छ । त्यहाँ कुनै खालको सहायता लैजान इजरायलले अनुमति दिएको छैन् । मानिसहरु ज्यान बचाउन गाजाबाट निस्केर जाने प्रयास गरिरहेका छन् ।
इजिप्टसँग सीमा जोडिएको गाजाको रफाह क्रसिङमा मानिसहरूको भीड जम्मा भएको छ। उनीहरु खाद्यान्न, औषधि र इन्धनको पर्खाइमा छन् । गाजा अस्पतालमा आउने घाइतेमध्ये आधा बालबालिका रहेको बताइएको छ ।
डाक्टरहरुका अनुसार तिनीहरूमध्ये केही यस्ता बच्चाहरू छन् जसको परिवारमा उनीहरू बाहेक कोही जीवित छैन। डा. घसान अबु सिट्टा अधिकांश समय बेलायतमा काम गर्छन् र गत सोमबार मात्र गाजा पुगेका थिए। उनी यहाँ उत्तरी क्षेत्रमा रहेको अस्पतालमा कार्यरत छन् ।
उनले भने, ‘चार र पाँच वर्षका दुई बालिकालाई आइतबार उनको अस्पतालमा ल्याइएको थियो । उनको शरीर जलेको छ भने टाउकोमा चोट लागेको छ ।’ उक्त अस्पतालमा काम गर्ने एक डाक्टरले भनिन्, ‘परिवारमा एक बालिका मात्रै बाँकी छिन् । हामी हरेक दिन यस्तै केसहरू पाइरहेका छौं। ”
कति इजरायली बन्धक हमासको हिरासतमा छन्, ?
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासद्वारा बन्धक बनाएका इजरायलीहरूको बारेमा नयाँ संख्या जारी गरेको छ। आइडीएफका प्रवक्ता डेनियल हगारीले गाजामा हमासले १९९ जनालाई बन्धक बनाएको बताएका छन् ।
यसअघि हिजो इजरायली सेनाले १५५ जनालाई बन्धक बनाएको बताएको थियो । प्रवक्ताले सबै बन्धकका परिवारलाई जानकारी गराइसकिएको बताए ।
गाजाको चरमपन्थी संगठन हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । हमास लडाकुहरूले इजरायली मानिसहरूलाई बन्धक बनाएर लगेका थिए। कतारले पनि बन्धकहरुको रिहाईका लागि मध्यस्थताको प्रयास गरेको थियो तर हालसम्म बन्धकहरुलाई रिहा गर्न सकेको छैन ।
इजरायली राजदूतको दाबी – हमासलाई पूर्ण रूपमा मेटाइनेछ
बेलायतका लागि इजरायलका राजदूतले इजरायलले ‘हमासलाई समाप्त’ गर्ने बताए। हमासले इजरायलमा आक्रमण गर्दा अक्टोबर ७ मा बेलायतका लागि इजरायलका राजदूत जिपी होतावाली इजरायलमा थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, “हामीले सुनेका छौं कि ८० प्रतिशत शव टुक्रा-टुक्रा भएको, युवतीको बलात्कार, साना बालबालिकाको टाउको काटिएको, यस्तो यातना, बर्बरता संसारले देखेको छ, दोस्रो विश्वयुद्धपछि देखेको छैन। । गाजा पट्टीमा हमासको अस्तित्व समाप्त हुनेछ। इजरायलले आफ्नो सीमाभित्र आतंकवादी संगठनलाई सहन सक्दैन।”
इजरायल-हमास द्वन्द्व: दक्षिणी गाजामा युद्धविरामको मुद्दा कहाँ छ?
दक्षिणी इजरायलबाट रिपोर्टिङ गर्दै आएका बीबीसी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिसे डुसेटका अनुसार गाजा र सारा विश्वका सबैको नजर राफा क्रसिङमा छ।
यो सीमानाले गाजालाई इजिप्टसँग जोड्छ। दक्षिणी गाजामा अस्थायी युद्धविरामको रिपोर्टलाई इजरायली प्रधानमन्त्रीको कार्यालयले तुरुन्तै खारेज गरिदिएको छ। अस्थायी युद्धविरामका लागि सैद्धान्तिक सहमति भइसकेको बताइए पनि केही कठिन मुद्दाहरूको विषय नमिलेको बताइएको छ ।
इजिप्टले आफ्ना कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्म क्रसिङ नखोल्ने स्पष्ट पारेको छ । उता गाजा क्षेत्रमा मानवीय सहायता ल्याउने सबै गाडीहरु चेक गरेर मात्रै छिर्न दिने इजरायलले बताउँदै आएइको छ । इजिप्ट र इजरायलके बीचमा रहेको राफा क्रसिङमा आएका गाडीहरु पनि इजरायल आफैँले चेक गर्न चाहेको छ । गाजा प्रवेश गर्ने सबै लरीहरू जाँच गर्न इजरायलले प्रयास गरिरहेको छ। सीमानामा मानिसको उद्वार तथा राहतका लागि आएका गाडीहरुमा हतियार ल्याइएको हो कि भनेर इजरायलले आशंका गरेको छ।
इजरायली सेनाले भन्यो- युद्धविरामको बारेमा कुनै सहमति भएको छैन
इजरायली सेनाले दक्षिणी गाजामा युद्धविरामको कुनै जानकारी नभएको र त्यसमा कुनै सम्झौता नभएको बताएको छ । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल रिचर्ड हेचले भने, “युद्धविराममा कुनै सहमति भएको छैन, हामीलाई यसबारे कुनै जानकारी छैन। म पनि रिपोर्टहरूमा यो सबै देखिरहेको छु। म यसको पुष्टि गर्दिन।”
समाचार एजेन्सी रोयटर्सले केही समयअघि आफ्नो रिपोर्टमा इजिप्टका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै इजिप्ट-गाजा सीमा खोल्ने क्रममा दक्षिणी गाजामा युद्धविराममा सहमति भएको बताएको थियो।
सोमबार इजिप्टसँगको गाजाको सीमा नाका (राफा क्रसिङ) खोलिएको बताइएको थियो । तर अहिलेसम्म उक्त क्षेत्र खुलाउन सकिएको छैन् । इजिप्ट यो क्रसिङ खोल्न अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूको दबाबमा छ।
शनिबार अमेरिकाले आफ्ना नागरिकहरूलाई क्रसिङ खोल्न तयार रहन र दक्षिणतर्फ जान सल्लाह दिएको थियो । धेरै प्यालेस्टिनी-अमेरिकीहरू पहिले नै क्रसिङ नजिक भेला भएका छन् ।
इजरायलले लेबनानी सीमामा बसोबास गर्ने मानिसहरूलाई उक्त क्षेत्रबाट बाहिर निकालिरहेको छ। इजरायलले लेबनान सीमा नजिकै उत्तरी इजरायलका मानिसहरूलाई बाहिर निकाल्न थालेको हो। इजरायली सेनाले सीमाको दुई किलोमिटर भित्र बस्ने मानिसहरूलाई उक्त क्षेत्रबाट बाहिर निकालेर सरकारी गेस्ट हाउसमा राखिने जनाएको छ।
आइतबार हिजबुल्लाहको मिसाइल आक्रमणमा सीमावर्ती गाउँका एक व्यक्तिको मृत्यु भएको थियो। इजरायलले हिजो राति लेबनानी चरमपन्थी समूह हिजबुल्लाहको सैन्य आधार शिविरमा आक्रमण गरेको थियो । यसमा कसैको ज्यान गएको खबर छैन ।
इजिप्ट र गाजाको सिमानामा रहेको रफाह क्रसिङ पनि सोमबार करिब दुई घन्टाका लागि खोलिने बताइए पनि त्यसको कार्यान्वयन भएन ।
हमासले भन्यो- ‘हामीलाई युद्धविरामको बारेमा कुनै जानकारी छैन’: रोयटर्स
समाचार एजेन्सी रोयटर्सले गाजाको चरमपन्थी संगठन हमासलाई उद्धृत गर्दै युद्धविरामको बारेमा कुनै जानकारी नभएको बताएको छ।
केही समयअघि रोयटर्सले इजिप्टका दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै दक्षिणी गाजामा युद्धविरामका लागि अमेरिका, इजिप्ट र इजरायलबीच सम्झौता भएको बताएको थियो। यो युद्धविराम स्थानीय समय अनुसार बिहान ९ बजेदेखि लागू हुने बताइएको थियो ।
रोयटर्सले हमासको मिडिया कार्यालयलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूलाई ‘मानवीय आधारमा प्रस्तावित युद्धविराम’ बारे कुनै जानकारी छैन। इजिप्टको रफाह क्रसिङ गाजाको एक मात्र सिमाना हो जुन इजरायलद्वारा नियन्त्रित छैन। इजिप्टमा अन्तर्राष्ट्रिय एजेन्सीहरूबाट यसलाई खोल्नको लागि बढ्दो दबाब थियो।
गाजाबाट बाहिर निस्कनका लागि यस सीमा नजिक ठूलो संख्यामा मानिस जम्मा भएका छन् । शनिबार अमेरिकाले आफ्ना नागरिकहरूलाई क्रसिङ खोल्न तयार रहन र दक्षिणतर्फ जान सल्लाह दिएको थियो । धेरै प्यालेस्टिनी-अमेरिकीहरू पहिले नै क्रसिङ नजिक भेला भएका छन्।
संयुक्त राष्ट्र संघ र एक्सनएड जस्ता सहायता एजेन्सीहरूले पनि मानवीय सहायता गाजा पुग्न अनुमति दिन यो क्रसिङ खोल्न अपील गरेका थिए।
यदि इजिप्ट-गाजा सिमाना खुल्यो भने, कसले त्यहाँबाट जान सक्नेछ?
इजिप्ट कूटनीतिज्ञहरू र अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूबाट गाजासँगको इजिप्टको सीमा रफाह क्रसिङ खोल्न दबाबमा छ। यो क्रसिङ खुलेपछि दुई ठाउँको नागरिकता भएका र गाजामा फसेका विदेशीले गाजा छोड्न सक्नेछन् ।
आइतवार, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए, “इजिप्टले गाजाका मानिसहरूका लागि धेरै सामग्री भण्डार गरेको छ र रफाह खोलिनेछ।” ब्लिन्केनले इजिप्टका राष्ट्रपति अल-सिसीसँग भेटपछि यस्तो बताएका थिए ।
प्रतिक्रिया