Logo

राजनीति

प्रचण्ड, देउवा र शेखरबीच भएको सम्झौता चिर्कटोप्रति कांग्रेस महामन्त्रीद्वयको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बालुवाटारमा तीन नेताबीचको हस्ताक्षर भएको सम्झौताप्रति असन्तुष्टि जनाएका छन् । पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमति भएको चिर्कटोबारे असहमति व्यक्त गरेका हुन् ।

महामन्त्री शर्माले तीन नेताहरुबीच भएको चिर्कटोप्रति छलफल भएको र त्यसमा दुई महामन्त्रीको असहमति रहेको बताए । उनले प्रधानमन्त्री प्रचण्ड र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिइरहनु आवश्यकता नै नरहेको उनको भनाइ थियो । ‘शेखरका प्रति आशंका भए उहाँले वक्तव्य दिएको भए भइहाल्थ्यो । त्यो चिर्कटो बनाइएको विषयमा हामी दुई महामन्त्रीको सहमति छैन’, उनले भने ।

यो घटनापछि सभापति देउवाले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने महामन्त्री शर्माको माग छ । कोशीमा भएको दुर्घटनाको जिम्मेवारी देउवाले नै लिनुपर्ने उनको भनाइ छ । कोशीमा देखिएको समस्यालाई सहमतिमै हलमा पुग्नुपर्ने बताउँदै उनले अब कांग्रेसले पनि विश्वासको मत दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

महामन्त्री शर्माले भने, ‘शेखर कोइरालाले पनि जबरजस्ती कांग्रेसको भागको माओवादीलाई दिइयो भन्ने भाष्य बनाउनुभएको छ । त्यो कांग्रेसको भाग दिइएकै होइन । कुनै प्रदेशमा कांग्रेसको भागको हुन त बहुमत ल्याएको पनि हुनुपर्थ्यो नि !’

उनले पार्टी सभापति र शेखरले पार्टी पंक्तिलाई कोशीबारे जवाफ दिनुपर्ने बताए । यसअघि दुई पटक माओवादीले कांग्रेसलाई छाडेको हुनाले अहिले माओवादीले दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।

प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार  ८ : ११ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।