काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले महिलाहरूले पनि सशक्त ढङ्गबाट काम गर्न सक्छन् भन्ने कुरा अझै नपत्याएको बताएका छन् ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सपथ ग्रहण गराउँदै उनले महिलाहरूले काम गर्ने मात्र नभइ असाधारण र दीगो काम गर्नसक्ने बताएका हुन् । ‘महिलाहरूले काम गर्छन भन्ने कुरा धेरैले पत्याउँदैन तर उहाँहरूको असाधारण हुन्छ, दीगो हुन्छ,’ अध्यक्ष ओलीले भने ।
यसैगरी, उनले पार्टीका सङ्गठनहरूमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको भए पनि कर्णाली प्रदेशले विधानको व्यवस्था उल्लंघन गरेर महिलालाई स्थान नदिएकोमा आक्रोश व्यक्त गरेका छन् । कर्णालीमा जे भएको छ त्यो स्वीकार्य नभएको भन्दै उनले भने, ‘हामीलाई महिलाको उपस्थिति ३३ प्रतिशत राख्न पसिना आउन हुँदैन । पाँच जना पधाधिकारीमा एक महिला ल्याउन नसक्ने कुरा हुँदैन । तर, कर्णालीले मानेन, त्यसमा हामी विचार गर्दैछौँ । त्यो कुरा स्वीकार्य हुन सक्दैन ।’
पदाधिकारीमा कम्तीमा एक जना महिला राख्नकै लागि दुई जना उपसचिवको व्यवस्था गरिएको ओलीले स्पष्ट गरे । ‘कर्णालीले जे गरेको छ, त्यो विधानले मिल्दैन । तरिकाले पनि मिलेन,’ उनले भने । यस्तै, उनले महिलाले पनि आफ्ना दिदीबहिनी, छोरीहरू र अरुहरूलाई पनि नेतृत्वका लागि तयार गर्नुपर्ने सुझाव दिएका छन् ।
यसैगरी, अध्यक्ष ओलीले उपत्यका प्रदेशले युवाहरूको विदेश पलायन रोक्नका लागि देशमा उद्यमशीलता र सृजनशीलताको विकासमा भूमिका खेल्नुपर्ने बताएका छन् । युवा र विद्यार्थीहरूलाई अधिकतम मोटिभेट गरेर आगामी अधिवेशनबाट युवाहरूलाई नेतृत्वमा स्थापित गराउनुपर्ने सुझाव ओलीको छ ।
‘उपत्यका प्रदेशको कामको परिणाम युवा विदेशसिने क्रम घट्नुसँग जाँच गरिन्छ । बाहिर जाने काम रोक्नुपर्ने भूमिका खेल्नपर्ने हुन्छ, त्यका लागि देशमा उद्यमशीलताको विकास गर्ने, सृजनशीलताका विकास गर्नुपर्ने, विद्यार्थीलाई मोटिभेट गर्नुपर्छ । संगठनको माध्यमबाट त्यो गर्न सकिन्छ,’ ओलीले भने, ‘यो अधिवेशनमा तपाइँहरूले ३० प्रतिशत भन्दा बढी नयाँलाई ल्याउनुभयो, अर्कोमा युवाहरुबाट धेरै ल्याउनुपर्छ ।’
प्रतिक्रिया