Logo

खेलकुद

त्रिकोणात्मक श्रृंखलामा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित



काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।  कप्तान रोहित पौडेलले अविजित २५ तथा गुल्सन झा १४ रनमा नटआउट रहे । अर्का ओपनर कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन बनाए ।

हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे । सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो ।

मुलपानीमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई सहि सावित गर्दै तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको थियो ।

हङकङले नेपालको तिव्र गतिको बललाई खेल्नै सकेनन् । स्पिनरलाई समेत उनीहरुले झेल्न सकेनन् । नेपालका लागि सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिएपछि हङकङ ९४ रनमा समेटिएको हो ।

हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । जिसान अलीले १७ रन बनाए । अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले सिरिजको पहिलो खेलमा यूएईलई ७ विकेटले हराएको थियो ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १३:५९   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।