काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको टिप्पणी गरेका छन् । प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनताको एकमात्र आशा राजसंस्था भएको जिकिर गरे ।
टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उनले निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताए । उनले अन्य गणतन्त्रवादी दलहरूलाई राजालाई गाली गरेर सत्ता टिकाउने र जनतालाई मुर्ख बनाउने नसोच्न चेतावनी पनि दिए ।
‘देशको बिग्रँदो अवस्थाप्रति चिन्ता गर्ने राजालाई गाली गर्नुको सट्टा गणतन्त्रका संवाहक भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्यो’, उनले भने, ‘अब पनि राजालाई गाली गरेर सत्ता टिकाउन र जनतालाई मुर्ख बनाउन सकिन्छ भनेर नसोचे हुन्छ ।’
दसैँ–तिहार, छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ ।




















प्रतिक्रिया