विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेविना प्रदेश सरकार नचल्ने बताएका छन् । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले कोशी सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री कार्कीले एमालेविना कोशी सरकार नचल्ने स्पष्ट पारेका हुन् ।
मुख्यमन्त्री कार्कीले एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने बताए । एमालेसँगको वार्तामा उनले भने, ‘एमालेविनाको सरकार गठन गरौं भनेर दबाब आएको छ । मैले स्पष्ट रूपमा भनेको छु– कोशी प्रदेशमा एमालेविना सरकार चल्न सक्दैन ।’
कार्की एमालेका ३९ र कांग्रेसका आफू पक्षीय ८ सांसदको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने विश्वासको मत राप्रपाबाहेक सबै दलले दिएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि काङ्ग्रेस शेखर समूहका नेता कार्कीले एमाले र काङ्ग्रेसबाट मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
कार्कीमाथि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमालेविनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन् । कार्कीले असोज २८ गते २ जना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सशङ्कित बनेको एमालेले मुख्यमन्त्रीसँगै आज वार्ता गरेको थियो ।




















प्रतिक्रिया