Logo

प्रमुख समाचार

फागुनमा रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि माघ दोस्रो हप्ता निर्वाचन



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघ दोस्रो हप्ता गर्ने तयारी गरेको छ । अगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचनको तयारी गरिएको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिएका हुन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त थपलियाले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए । आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताए ।

समिति बैठकमा उनले भने, ‘आगामी फागुन २१ गते रिक्त हुन आउने एकतिहाइ, यो चोटी १९ जना पर्नुभएको छ । रिक्त चाहीँ २० वटै हुँदैछ तर निर्वाचन चाहीँ १९ वटा पदको निर्वाचन माघको दोस्रो हप्ता सम्पन्न गर्नेगरी आवश्यक तयारी गरेका छौं । मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ । सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी यो राष्ट्रिय सभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं ।’

त्यसैगरी प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त रहेका विभिन्न पदहरूमा आगामी वैशाखमा उपनिर्वाचन गर्नेगरी सरकारसँग परामर्श भइरहेको प्रमुख आयुक्त थपलियाको भनाइ छ । ‘प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति पनि हामी अनौपचारिक रुपमा छलफलमै छौं । राष्ट्रियसभा निर्वाचनपछि आउँदो वैशाखतिर त्यो निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने आयोगले अनौपचारिक परामर्श दिएको छ’, उनले भने, ‘हामी ३ महिनाको समय भयो भने जुनसुकै अवस्थामा पनि निर्वाचन सम्पन्न गर्नसक्छौं । आवश्यक तयारी भइरहेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १४:५२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।